रामेछाप- कोरोना भाइरस फैलिन नदिनको लागि एक महिना अघि देखि लगाईएको लकडाउनका कारण रामेछापका सयौँ दुध किसान मर्कमा परेका छन् । सुरुमा एक हप्ताका लागि लगाईएको लकडाउन पटक–पटक थप हुँदै एक महिना बितिसक्दा पनि किसानका लागि कुनै राहत प्याकेज बिना लगतार थपिँदै लगिएको लकडाउनले आफूहरुलाई पूर्ण रुपमा मर्क परेको किसानहरुको गुनासो रहेको छ ।
यस अघि नियमित दुध खरिद गर्ने सदरमुकाम मन्थलीमा रहेका दुई डेरीले आफूहरुले उत्पादन गरेको दुध एक महिना अघिदेखि आंसिक रुपमा मात्रै खरिद गरिएको र राज्यले पनि कुनै चासो नदेखाएको भन्दै किसानहरु मंगलबार आफ्ना समस्या लिएर प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका छन् । रामेछाप दुग्ध सहकारी संस्थाकी अध्यक्षको नेतृत्वमा गएका किसानहरुले आफूहरुले उत्पादन गरेको दुध लकडाउनका कारण विक्री नभएको, गाईभैँसीलाई दाना खरिदमा समस्या भएको, राज्यले कुनै चासो नदिएको लगायतका समस्याहरु किसानहरुले राखेका छन् ।
सहकारीकी अध्यक्ष घिमिरेले भन्नुभयो– ‘अहिले विश्व नै महामारीको चपेटामा रहेको बेला हामीलाई पनि त्यसाको असर परेको छ, हामीले पनि राज्यले भनेको मान्नु पर्छ तर हामीले उत्पादन गर्ने दुध विक्रीको व्यवस्था मिलाइदिनु पथ्र्यो तर त्यो नत स्थानीय सरकारले गर्यो नत अरु निकायलेनै । जसको कारण दुध मात्रै हैन गाईभैँसीलाई दाना समेत खुवाउन सकेका छैनौँ । हाम्रो पीडा कस्ले सुनिदिने थाहाँ छैन ।’
प्रमुख जिल्ला अधिकारी समक्ष किसानहरुले आफूहरुले उत्पादन गरेको दुध विक्री हुने गरी विहान बेलुका विक्री गर्न मिल्ने गरी लकडाउनलाई खुकुलो बनाउन माग समेत गरेका छन् ।
त्यस्तै चिरन्जीबी डेरी उद्योगका संचालक भानु श्रेष्ठले महामारीको फैलिइरहेको कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनले दुध किसान र आफूहरु जस्ता साना उद्योगीहरुलाई ठूलो समस्या परेको बताउनुभयो । राज्यले लकडाउनलाई थप कडाइ पर्ने हो भने विभिन्न क्षेत्रमा रहेका किसान, मजदुर, उद्योगी लगायतका लागि केही राहत प्याकेज ल्याउन जरुरी रहेको बताउनुभयो । रामेछाप जिल्लामा अहिले सम्म कोरोना भाइरस संक्रमित नभेटिएकाले अन्य जिल्लाका नाकाहरुलाई कडाई गरेर जिल्लामा केही खुकुलो बनाउनु पर्ने माग समेत किसानहरुले राखेका छन् ।
दुध उत्पादक किसानहरुले दुध डेरीहरुलाई दिनभरनै बिक्रि बितरण गर्न दिनुपर्ने माग राखेपनि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लकडाउनमा दुध डेरीलाई मात्र त्यसरी खुल्ला राख्दा दुध र दुध जन्य पदार्थ खरिद गर्ने नाममा अनावश्यक भिडभाड हुने संम्भावना रहेकोले बिहान र बेलुकाको निश्चित समयका लागि दुध डेरी खोल्न सकिने बताउनुभयो ।
छलफलपछि यसअघि दुई दिनमा एक पटक दुध लिने डेरीहरुले दैनिक रुपमा किसानहरुले ल्याएको पचास प्रतिशत दुध राखिदिने सहमती भएको छ । यो संकटको घडिमा राज्यले किसानहरुलाई टिकाउने राहत प्याकेज ल्याउन नसके भविष्यमा यसको भार राज्यलाईनै पर्ने किसानहरुले बताएका छन् ।
यो बारेमा तपाईको प्रतिकृया