मन्थली- रामेछापको साविक रामेछाप गाविस वडा नम्बर १ डुम्रीबोटेमा २५ जनाको लगानीमा २०५८ सालमा स्थापना भएको अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले १८ बर्षको अवधीमा आइपुग्दा दुई करोड ५६ लाख ८४ हजार ८२ रुपैयाँको हाराहारीमा आर्थिक कारोबार गरीरहेको छ । त्यस्तै सहकारीले आर्थिक वर्ष २०७५/०७६ मा २ लाख ५९ हजार ६८ रुपैयाँ नाफा कमाएको छ ।
शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न संस्थाको १८ औँ साधारणसभामा १८ बर्ष सम्म आइपुग्दा संस्थाले गरिरहेको आर्थिक कारोबार र कमाएको खुद नाफाको बारेमा संस्थाका कोषाध्यक्ष रमेश ढुङ्गेलले जानकारी जानकारी गराउनुभएको हो । त्यस्तै संस्थाले हाल सम्म गरेका विभिन्न गतिविधिको बारेमा र आगामी दिनको संस्थाको कार्यक्रमको बारेमा संस्थाका सचिब प्रमोद कुमार श्रेष्ठले जानकारी गराउनुभएको थियो भने लेखा तथा सुपरिबेक्षण समितिका सदस्य पवन कठायतले समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
रामेछापको डुम्रीबोटेमा स्थापना भएको अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अहिले सदरमुकाम मन्थलीमै कार्यालय सारेर मन्थलीलाई मुख्य बजार बनाएर काम गरीरहेको छ ।
समृद्ध नेपाल र सुखी नेपालीको नारा पुरा गर्न सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्छ : नगर प्रमुख थापामगर
सहकारीको साधारणसभा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्न सहकारीले आफ्ना शेयर सदस्यलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीले ऋण प्रवाह गर्दा पकेट क्षेत्र घोषणा गरेर त्यहाँको सम्भाव्यता अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख थापा मगरले अझै पनि झोले सहकारीहरुको कारणले राम्रो काम गर्ने सहकारीहरुलाई समस्या पर्ने गरेकाले त्यस्ता सहकारीहरुलाई स्थानीय सरकारले चाँडै कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
अहिलेका सहकारीहरुले नाफा कमाउने उद्देश्यले ऋण मात्रै दिने तर ऋण लाने सदस्यको आर्थिक स्थितिमा के सुधार आयो भनेर कुनै पनि अध्ययन नगर्दा एक दिन सहकारीलाई ठूलो जोखिम आउन सक्ने बताउँदै नगर प्रमुख थापामगरले त्यस तर्फ पनि सहकारीहरुले ध्यान दिनुपर्ने धाराण राख्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष समिर कार्कीले रामेछापको एउटा कुनामा स्थापना भएको सहकारीले ६ सय बढी शेयर सदस्य बनाएर उनिहरुको आर्थिक अवस्थालाई मजबुद बनाउन सहयोग गर्ने अम्बर आदर्शको कामलाई सबैले प्रशंसा गर्नु पर्ने बताउनुभयो । आगामी वर्षहरुमा सहकारीले आफ्नो उद्देश्य अनुसार काम गर्नु पर्नेमा उहाँको जोड रहेको छ ।
एउटा सहकारीको नराम्रो कामले सबै सहकारीलाई बदनाम बनायो : कार्यबहाक अध्यक्ष ढुङ्गेल
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रामेछापका कार्यबहाक अध्यक्ष हिमाल ढुङ्गेलले केही सहकारीले नराम्रो काम गर्दा सबै सहकारीको बदनामी हुँदै गएको आरोप लगाउनुभएको छ । विभिन्न उद्देश्य राखेर दर्ता भएका सहकारीहरुले ऋण लगानी गर्ने मात्रै आफ्नो मुख्य काम हो भन्ने तरिकाले अगाडी बढेका कारण राम्रै काम गर्दै आएका राम्रा सहकारीलाई समेत अफ्टेरो परेको आरोप लगाउनुभएको हो । उहाँले अहिले सहकारीको ऐन बनाउने जिम्मा स्थानीय सरकारको भएकाले स्थानीय सरकारले ऐन कानून बनाउँदा सहकारी र शेयर सदस्यलाई अफ्टेरो नपर्ने गरी बनाउनु पर्नेमा जोड दिनुभयो ।
सहकारीले उद्योग स्थापना गर्न तर्फ ध्यान दिनु पर्छ : सचिब श्रेष्ठ
नेपाल पत्रकार महासंघ रामेछापका सचिब नवराज श्रेष्ठले जिल्लामा करोडौ पुँजी भएका सहकारीहरुले आफ्ना शेयर सदस्यहरु मार्फत उद्योग स्थापना गरी उनिहरुको आर्थिक अवस्थालाई मजबुद बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले दीगो विकासका लागि सहकारीहरुले आफ्नो उद्देश्य अनुरुप काम गर्नु पर्नेमा पनि जोड दिनुभयो । सहकारीले अब शेयर सदस्यको जिविको पार्जन मात्रै नभएर व्यवसायिक उत्पादनमा समेत टेवा पुग्ने गरी विभिन्न क्षेत्रमा लगानी गर्न जरुरी रहेको सचिब श्रेष्ठको भनाई रहेको छ ।
सबैको सहयोगले सहकारी यहाँ आयो : अध्यक्ष थाप
जिल्लाको एक कुनो ठाउँ डुम्रीबोटेमा २५ जनाबाट स्थापना भएको सहकारीले आहिले ६ सय ८८ जना शेयर सदस्य पाउनु धेरै उपलब्धी भएको बताउँदै त्यो हुनुमा सबै शेयर सदस्यको हात रहेको बताउनुभयो । उहाँले सहकारीमा बचत गर्ने सबै शेयर सदस्यहरुको पैसा सुरक्षित भएको बताउँदै आगामी दिनमा पनि ढुक्क भएर बचत गर्न आग्रह गर्नुभयो । अध्यक्ष थापाले अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आगामी दिनमा आफ्नो उद्देश्यमा रहेर शेयर सदस्यहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पत्रकार सहित विभिन्न व्यक्ति सम्मानित
अम्बर आर्दश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाको विषयमा विभिन्न प्रकारका समाचार प्रकाशन तथा प्रशारणमा योगदान पु¥याएको भन्दै एक पत्रकार, सहकारीमा कार्यरत एक जना कर्मचारी र विषेश प्रकारका शेयर सदस्यहरुलाई पनि सम्मान गरेको छ । सहकारीले नेपाल अभियान डट कमका संचालक पत्रकार रामचन्द्र वि.क. र सहकारीमा कार्यरत कर्मचारी सपना काफ्ले पौडेललाई दुई हजार नगद सहित प्रशंसा–पत्रले सम्मान गरेको हो ।
त्यस्तै सहकारीले असल बचतकर्तामा धिरेन्द्र खोजु, अधिक बचतकर्तामा शौरभ श्रेष्ठ, असल ऋणीमा राम प्रसाद कथवनिया, अधिक शेयर खरिदकर्तामा शेर बहादुर राई, जेष्ठ सदस्य बचतकर्ताहरुमा भक्त बहादुर सुवेदी, शुभलक्ष्मी थापा मगर र बाल बचतकर्तामा संयोग पौडेललाई पनि विभिन्न सामाग्री सहित सम्मान गरेको छ ।
रिक्त भएका पदमा नयाँ सदस्य
संस्थाले १८ औं वार्षिक साधारणसभामा यसै वर्ष देखि रिक्त भएका पदमा नयाँ सदस्य चयन गरेको छ । यसरी चयन हुनेमा सन्जु श्रेष्ठ, मन्जरी सुवेदी पौडेल र उमेश श्रेष्ठ रहेका छन् ।
यो बारेमा तपाईको प्रतिकृया