२१ असार, २०७६
मन्थली – मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले अझै पनि अधिकासं सहकारीहरु झोलाकै भरमा संचालनमा रहेको बताउनुभएको छ । सदरमुकाम मन्थलीमा शनिबार कोशिश कृषि सहकारीले आयोजना गरेको सहकारी सम्बन्धी समसामयिक विषयको छलफलमा बोल्दै प्रमुख बस्नेतले यस्तो बताउनुभएको हो ।
उहाँले एकै किसिमका उद्देश्य भएका सहकारीले एउटै व्यक्तिलाई सदस्य बनाउँदै जाँदा आर्थिक कारोबारमा नियमितता नहुँदा सहकारीका सदस्यसँगै सहकारीलाई समेत समस्या पर्ने बताउनुभयो ।
नगर भित्र ९० ओटा भन्दा बढी सहकारी रहेको र धेरै जसो सहकारीको उद्दश्य एउटै भएकाले सहकारीका सदस्यहरुको आर्थिक विकासमा पूर्ण रुपमा टेवा नपुगेको समेत नगर प्रमुख बस्नेतले बताउनुभयो ।
कुष्टरोगबाट प्रभावितहरु भएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिहरुको सक्रियतामा संचालित कोशिश कृषि सहकारी संस्था लिमिटेडले अहिले ४० लाख बराबरको आर्थिक कारोबार गरीरहेको सहकारीकी सचिब कबिता श्रेष्ठले बताउनुभयो ।
सहकारीले साविकको चिसापानी, मन्थली र तिल्पुङ गाविसलाई कार्यक्षत्र बनाएर अपाङ्गता भएका व्यक्ति र कुष्टरोगबाट प्रभावित व्यक्तिहरुलाई कृषि लगायतको क्षत्रमा सहयोग पुग्ने गरी काम गरीरहेको संस्थाका अध्यक्ष मोहन बहादुर बुढाथोकीले जानकारी गराउनुभयो ।
हाल सहकारीमा १ सय ६५ जना सदस्य रहेका छन् । सहकारीले मुख्य कार्यक्षत्र साविकको चिसापानी, मन्थली र तिल्पुङ गाविसमा समूह गठन गरेर काम गरिरहेको छ । सहकारीले आगमी दिनमा आफ्नो कार्यक्षत्र विस्तार गर्ने पक्षमा रहेको समेत जानकारी गराएको छ ।
कार्यक्रममा उपप्रमुख माया कुमारी कार्की, मन्थली नगरपालिकाका सहकारी तथा साममाजिक विकास अधिकृत गोविन्द कट्टेल, जिल्ला सहकारी संघ रामेछापका कार्यबहाक अध्यक्ष हिमाल ढुङ्गेल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ ३ नं. प्रदेशका सदस्य बद्री नयाँघरे लगायतले सहकारीको माध्यमबाट फरक क्षमता भएका व्यक्तिहरुले समाजमा उदाहरणिय काम गरेकोले यस्ता सहकारीलाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिए ।
यो बारेमा तपाईको प्रतिकृया