रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र लोपउन्मुखलाई तिहार खर्च दिएर सम्मान गरेको छ । गाउँपालिकाले पालिका भित्र रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र लोपउन्मुखहरुलाई प्रति व्यक्ति दुई हजारका दरले रकम हस्तान्तरण गरेर सम्मान गरको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को बजेटबाट पालिका भित्र करिब दुई हजारको हाराहारीमा रहेका व्यक्तिहरुलाई रकम हस्तान्तरणको कार्यक्रम शुक्रबार देखि सुरु गरिएको उमाकुण्ड–७ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता रुद्रमणी नेवारले बताउनुभयो ।
प्रवक्ता नेवारले भन्नुभयो–‘उमाकुण्ड गाउँपालिका निकै विकट र चिसो ठाउँ हो, यहाँ हुनुभएका बुबा आमा र अशक्तलाई थोरै भए पनि तिहारमा खर्च गर्न र चिसोमा न्यानो कपडा किन्नको लागि सहयोग पुग्योस भन्ने उद्देश्यका साथ उक्त रकम वितरण गरिएको हो ।’ संघीय सरकार, प्रदेश सरकार लगायत विभिन्न निकायबाट उहाँहरुलाई सहयोग भइरहेको भए पनि स्थानीय नागरिक प्रति बढी जिम्मेवार स्थानीय सरकारक नै हुने भएकाले उहाँहरुको आवश्यकतालाई पहिचान गरी उहाँहरुकै चाहाना अनुसार गाउँपालिकाको ७ ओटै वडामा उक्त कार्यक्रम सुरु गरिएको प्रवक्ता नेवारले बताउनुभयो । यसरी वितरण गर्न लागिएको रकम सामाजिक सुरक्षा भत्ता भन्दा बाहेकको रकम रहेको पनि प्रवक्ता नेवारको भनाई रहेको छ ।
तिहार अगाडी नै उक्त कार्यक्रम सुरुवात गर्ने निर्णय अनुसार उमकुण्ड–७ भुजीमा रहेका तीन सय ६० जना जेष्ठ नागरिक, एकल महिला, लोपउन्मुख र अपाङ्गता भएका व्यक्तिहरुलाई वडा कार्यालयबाट रकम वितरण गरिएको पनि वडा अध्यक्ष नेवारले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया