रामेछाप- रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि स्वास्थ्यकर्मीहरु घरमै गएर स्थानीयहरुको स्वास्थ्य परीक्षण गरेका छन् । शनिबार देखि सुरु गरिएको स्वास्थ्य परीक्षणमा लकडाउनको समयमा घरमा बसेका सबै स्थानीयको ज्वरोको अवस्था, रुघाखोकी लगायत रोगको जानकारी हुने गरी परीक्षण गरिएको वडाध्यक्ष समिर कार्कीले बताउनुभयो ।उहाँले भन्नुभयो– ‘अहिले लकडाउनको समयमा सबै नागरिकहरु घरभित्रै बसेका छन् । यस्तो अवस्थामा उहाँहरुको स्वास्थ्यमा कुनै समस्या आयो भने स्वास्थ्य संस्थामा समेत जना सक्नु हुन्न, त्यसैले हामीले कोरोना भाइरस संक्रमणलाई फैलिन नदिन र अन्य रोगबाट ग्रसित भएका नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा सहयोग पुग्ने अपेक्षा सहित सुकाजोर स्वास्थ्य चौकी र नगरको स्वास्थ्य शाखा सहितका स्वास्थ्यकर्मीहरुले अहिले सबै नागरिकको घरमा पुगेर स्वास्थ्य परिक्षण गरिरहनुभएको छ ।’
स्वास्थ्य परीक्षणसँगै वडामा भएका दिर्घरोगीको तथ्यांक पनि संकलन गरिने र उनिहरुलाई आवश्यक पर्ने औषधी निःशुल्क उपलब्ध गराईने समेत अध्यक्ष कार्कीले बताउनुभयो ।
शनिबारबाट सुरु गरिएको स्वास्थ्य परीक्षणमा नगर प्रमुख नर बहादुर थापामगर, उपप्रमुख सृजना खड्का लगायतको समेत सहभागिता रहेको थियो । शनिबारबाट सुरु गरिएको स्वास्थ्य परीक्षण सबै वडामा गरिने रामेछाप नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामशरण पौडेलले बताउनुभयो । यसरी सबै वडामा गएर गरिने स्वास्थ्या परीक्षणमा विभिन्न देशहरुबाट आएका र यसअघि नगरपालिकाले काठमाण्डौबाट उद्धार गरी ल्याएका स्थानीय प्राथमिकतामा पर्ने पनि प्रमुख पौडेलले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया