रामेछाप– लिखुतामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार गाउँपालिकाको सातौं गाउँसभाले कोरोना भाइरसका कारण आउन सक्ने संकटलाई समधान गर्ने गरी आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्राम ल्याएको हो ।
आर्थिक विकासका लागि गाउँपालिकाले कृषि तथा पशुपंक्षी विकास मार्फत कृषिमा उन्नतिः लिखु तामाकोशी गाउँपालिकाबासीको समुन्नति, चिनौँ आफ्नो माटोः बनाऔँ आफ्नै गाउँ, बारीका पाटा र खेतका गराः हुन्छन् सबै हराभरा, एक वडा तहः एक पकेट क्षेत्र, खोला खोल्सीको पानी, पाखाबारीको जिन्दगानी जस्ता नाराका साथ कार्यक्रमलाई पहिलो प्राथिमकतामा राखेको छ ।
त्यस्तै पर्यटकिय विकासका लागि एक वडा एक नमूना पर्यटकीय गन्तव्य, रोजगारीका लागि एक घरः एक उद्यमी, गुणस्तर शिक्षाका लागि समृद्ध लिखु तामाकोशीको प्राथमिकताः घर–घरमा शिक्षा, स्वच्छ खानेपानीका लागि एक घर एक धारा, लैंगिक समनताका लागि समावेशी विकासः समस्याको निकास, पूर्वधार विकासका लागि पूर्वाधार समुन्नतिको आधारः विकास जनताको अधिकार जस्ता नारा सहितका कार्यक्रमहरु आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा समेटिएका छन् ।
गाउँपालिका उपाध्यक्ष दिपशिखा न्यौपाने दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ को सङ्क्रमणलाई यथाशीघ्र रोकथाम तथा नियन्त्रण गर्न मापदण्ड अनुसार परीक्षणको दायरा वृद्धि, थप पि.सि.आर. ल्याव सञ्चालन, केस इन्भेस्टिगेसन, कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षण कार्यका लागि गाउँपालिकाको केन्द्र धोबीमा व्यवस्था मिलाउने, सरकारी तथा अन्य सामुदायिक अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जास्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष दाहालले आर्थिक वर्ष २०७७/०७८ का लागि अनुमानित बजेट ५९ करोड ११ लाख ६८ हजार २ सय पचास रुपैयाँ रहेको पनि बताईन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले आगामी आर्थिक वर्षको लागि ल्याईएको नीति तथा कार्यक्रमले समृद्ध गाउँपालिका बन्ने विश्वास व्यक्त गर्दै नीति तथा कार्यक्रमलाई जसरी पनि कार्यान्वय गराउनु पर्ने बताए । उनले आगामी आर्थिक वर्षका लागि ल्याईएको नीति तथा कार्यक्रम सफल बनाउनको लागि आफू रातदिन लागी पर्ने बताए । ‘हामी सबैको ऐक्यबद्धताः सुशासनयुक्त, समृद्ध लिखुतामाकोशी हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ ल्याइएको नीति तथा कार्यक्रम सफ बनाउनको लागि सबै एक भएर लाग्नु पर्ने पनि अध्यक्ष खड्काले बताए ।
लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काको अध्यक्षता तथा रामेछाप प्रदेशसभा ‘क’ बागमती प्रदेशका सांसद शान्ती प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिक दलका नेता, पत्रकार, स्थानीय नगरिक लगायतको सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया