६ जेठ २०७६
मन्थली– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले दुई वर्षे कार्यकाल आफूले अपेक्षा गरे जस्तो नभएको बताउनुभएको छ । २०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मन्थली नगरपालिकाको प्रमुखमा निर्वाचित बस्नेतले २०७४ साल जेठ ५ गते पदभार ग्रहण गरे पछि दुई वर्षको अवधीमा आफूले गरेका कामको बारेमा पत्रकार मार्फत जानकारी गराउँदै विधी भन्दा बाहिर रहेर काम गर्नु परेको कारण जनताको चहान अनुसार काम गर्न नसकेको गुनासो गर्नुभएको हो ।
नगरपालिकाका अधिकासं वडाहरूमा गएको बजेट आर्थिक वर्षको अन्तिम सम्ममा पनि सबै खर्च नहुँदा त्यसको असर समग्र नगरपालिकालाई पर्ने हुँदा भएका काम पनि ओझेलमा परेको नगर प्रमुख बस्नेतले बताउनुभयो ।
मन्थली नगरपालिकाको आवधिक योजना नहुँदा योजनावद्ध विकासको थालनी गर्न नसकिएको, अझै पनि संघ र प्रदेश कानून नहुँदा नगरले भने अनुसारको काम गर्न नसकेको जस्ता प्रमुख चुनौतीहरू नगरपालिकालाई रहेकाले ती समस्या समधानको लागि सम्बन्धित निकायहरू लाग्नु पर्नेमा प्रमुख बस्नेतले जोड दिनुभयो ।
त्यस्तै नगर प्रमुख बस्नेतले नगरपालिकाले विभिन्न चुनौतीका बीच पनि पूर्वाधार, शिक्षा, खेलकुद तथा संस्कृति, सामाजिक विकास, उद्योग कृषि तथा पर्यटन, वन बातावरण, फोहोर ब्यवस्थापन, न्याय सम्पादन लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको तथ्याङ्क समेत प्रस्तुत गर्नुभएको थियो ।
नगर प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकालाई पूर्ण सफा र सभ्य हरित शहर निर्माण, सार्वजनिक कार्यमा सकृय सहभागिता लगायतका कार्यमा सरोकारवाला निकाय र आम नगरबासीहरू एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
यस आर्थिक वर्षाको बैशाख मसान्त सम्ममा समग्र बजेटको ४७ प्रतिशत खर्च भइसकेको समेत नगरपालिकाले बताएको छ ।
यो बारेमा तपाईको प्रतिकृया