२६ जेठ , २०७६
फुलासी– नागरिकहरूलाई बनेका ऐन कानुनको सामान्य जानकारी पनि नहुँदा विभिन्न समस्याहरू भोग्नु परेको सन्दर्भमा मन्थली नगरपालिकाले न्यायीक समितिको क्षेत्राधिकार तथा ऐन, कानून निर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरुवात् गरेको छ ।
मन्थली नगरपालिका–१४ फुलासीमा नगर उपप्रमुख एवं न्यायीक समिति संयोजक मायाकुमारी कार्कीले औपचारिक रुपमा उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको छ । उहाँले सामान्य समस्याहरूमा पनि सर्वसाधारणहरू प्रहरी र अदालत जाने क्रमलाई रोक्न तथा न्यायीक समिति र मेलमिलाप केन्द्रको भूमिका स्पष्ट गर्न कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । उद्घाटन समारोहमा न्यायिक समितिका सदस्यद्वय नारायण बोगटी र उद्धव रम्तेलले न्यायिक समितिमा रहेर गरेका काम एवं अनुभवहरूको बारेमा जानकारी गराउनु भएको छ ।
मन्थली नगरपालिका न्यायीक समितिको आयोजनामा मन्थली नगरपालिका– १४ फुलासीबाट शनिबार सुरु गरिएको अभिमुखीकरण सबै वडाहरूमा संचालन गर्न लागिएको मन्थली नगरपालिकाका कानून अधिकृत सुदर्शन रायले जानकारी दिनुभयो । उहाँले कानूनका विषयमा जानकारी नहुँदा पनि क्षमा नहुने तथा नागरिकलाई न्यायीक समितिको विषयमा जानकारी गराउँदै न्यायीक समितिसम्म आउन सहजताको लागि कार्यक्रम संचालन गरिएको बताउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा न्यायीक समितिको कार्यविधि एवं मन्थली नगरपालिकाको कानून निर्माण प्रक्रिया, न्यायीक समितिको क्षेत्राधिकार, न्यायीक समिति र मेलमिलाप केन्द्र बीचको सम्बन्ध, संविधानमा मौलिक हक तथा स्थानीय सरकारको दायित्व, लैँगिक हिँसा र विभेद तथा कानूनी ब्यवस्था लगाएतका विषयमा जानकारी गराइएको छ । कार्यक्रमलाई अधिबक्ता पाण्डव प्रसाई, मन्थली नगरपालिकाका कानून अधिकृत सुदर्शन राय लगाएतले सहजीकरण गरिरहनु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया