रामेछाप- माहिला माथी हुने विभिन्न दुर्व्यवहार प्रतिकार गर्ने गरी रामेछाप नगरपालिकाले नगरका विद्यार्थीलाई लक्षित गरी दुव्र्यहारको विरुद्ध प्रतिकार गर्ने गरी किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम दिएको छ ।
विषेश गरी नगरका विद्यालयमा अध्ययनरत छात्राहरुलाई हुन सक्ने दुर्व्यवहार र बलात्कारका प्रयासलाई आफैले प्रतिकार गर्न सक्ने गरी तालिम दिइएको हो । शनिबार देखि सुरु भएको तालिमबाट १३ वटा माविका २६ किशोरी र १३ जना महिला शिक्षकहरु गरी ३९ जना महिला लाभान्वित भएका छन् ।
सोमबार तालिम समापन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले एक्काइसौँ शतब्दीमा आइपुग्दा पनि पुरुषले महिलामाथी यौन दुर्व्यवहारका घटना घटाउँदा महिलाले ज्यान गुमाउनु पर्ने बाध्यत्मक परिस्थिति आझै पनि रहेकाले त्यस्ता घटनाको महिला आफैले प्रतिकार गर्न सक्ने गरी नगरले कार्यक्रम ल्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘महिला माथि हुने विभिन्न दुर्व्यवहार विरुद्ध प्रतिकार गर्न सक्यौँ भने हामीलाई कसैले केही गर्न सक्दैन ।, त्यसको आँट किशोरी देखि नै गर्नुपर्छ । अनि मात्रै महिला माथी हुने यौन दुव्र्यवहार हट्दै जान्छन् ।’ उहाँले थप्नुभयो–‘ अझै पनि महिलाहरु यौन दुव्र्यवहारको विषयमा खुलेर कुरा गर्दैनन् । जसले गर्दा यौन दुव्र्यवहारका घटना घटीरहेका छन् । यस्तो विषयमा हामी सबैले खुलेर कुरा गर्न र त्यसको प्रतिकार गर्न सक्यौँ भने हामीलाई कसैले केही पनि गर्न सक्दैनन् ।’ समाजमा हुने यौन दुव्र्यवहार देखि विभिन्न महिला हिसांका घटना निर्मूल पार्न सबै लाग्नु पर्नेमा उपप्रमुख खड्काको जोड रहेको छ ।
तालिममा सहभागी भएर हिंसाबाट कसरी बच्ने, हिंसा भएको कसरी थाहा पाउने र यौन दुव्र्यवहारबाट जोगिने उपायहरु लगायत विभिन्न अभ्यासहरु आफूले थाहा पाएको शारदा संस्कृत माविकि पुष्पाञ्जली घिमिरेले बताउनुभयो । त्यस्तै सहभागी एक महिलाले यस्तो तालिम यस अघिनै लिन पाएको भए विभिन्न दुव्र्यवहारको पीडित हुनु नपर्ने भनाई राख्नुभयो । यौन दुव्र्यवहार र बलात्कारका प्रयासलाई कसरी प्रतिकार गर्ने भन्ने विषयका अनुभवी प्रशिक्षकहरुले तालिम दिएका थिए ।
यो बारेमा तपाईको प्रतिकृया