रामेछाप- लकडाउनको समयमा ब्यापारीहरुले दैनिक खाद्यन्नको सामाग्रीमा अस्वभाविक मूल्यबृद्धि गराउँदा पनि स्थानिय प्रशासन बेखबर रहेको छ । सदरमुकाम मन्थली लगायतका जिल्लाका सबै बजार क्षेत्रका दैनिक उपभोग्य पसलका ब्यापारीहरुले अस्वभाविक रुपमा मुल्यबृद्धि गराएका कारण उपभोक्ताहरु मारमा परेका छन् ।
लकडाउनको आरम्भबाटै चामल, दाल, तेल, गेडागुडी लगाएतका दैनिक उपभोग्य बस्तुमा नपत्याउँदो पाराले मूल्य बृद्धि गराएका ब्यापारीहरुले अहिले सम्म आईपुग्दा त्यहि मूल्य कायम राखेको उपभोक्ताहरुले आरोप लगाएका छन् । लकडाउनको मौका छोपी ब्यापारीहरुले मुल्यबृद्धि गराएर उपभोक्ताहरुको ढाड सेक्ने काम भएको मन्थली नगरपालीका ५ का उपभोक्ता नविन कार्कीले बताए ।
जसमा सबैभन्दा बढि खपत हुने दाल, चामल, तेल, फलफुल र गेडागुडी लगायतका खाद्य बस्तुको सबै भन्दा बढी मूल्य बढेको र यसरी मुल्य बृद्धि हुँदा पनि प्रशासनले कुनै चासो नदिएको र चामलमा प्रति बोरा २ सय रुपैयाँ, खाने तेलमा प्रति कार्टुन २ देखि ३ सय रुपैयाँ सम्म सम्म मूल्य बढेको छ । त्यसैगरि स्याउ, केरा र सुन्तला लगाएतका फलफूलमा पनि अत्याधिक रुपमा मूल्य बृद्धि भएको छ ।
ढुवानीका गाडिहरुले मूल्य बृद्धि गरेका कारण पनि सामानको मूल्यमा केहि बृद्धि भएको ब्यापारीहरुको भनाई रहेको छ । तर सरकारले भने तेलको मुल्यमा आएको गिरावटसँगै उत्पादन र निर्यात ढुवानी दुवैमा समस्या नरहेको बताउँदै आएको छ । बजारमा मूल्य बृद्धिको बारेमा पूर्ण रुपमा जानकार रहेको प्रशासनले गरेको बेवास्तासँगै बढेको मूल्य बृद्धिमा ढुवानीको साधनको कुनै पनि हात नरहेको तामाकोशी ढुवानी सेवा समिति रामेछापका अध्यक्ष समेत रहेका नविन कार्कीले बताए ।
लकडाउनको मौका छोपेर ब्यापारीहरुले मूल्य बृद्धि गराउँदा त्यसको सबै भन्दा असर ग्रामिण क्षेत्रका उपभोक्ताहरुमा समेत परेको छ । यो समयमा गाउँका बजारहरुमा अझ बढी मूल्य बृद्धि भएको उपभोक्ताहरुको भनाई रहेको छ । स्थानीय ब्यापारीहरुले सामानको अभाब र ढुवानीको समस्या देखाउँदै मुल्यमा अस्वभाविक मूल्यबृद्धि गराएको रामेछाप नगरपालीका ३ का उपभोक्ता टंकराज सुवेदीले बताए ।
यो बारेमा तपाईको प्रतिकृया