रामेछाप– झण्डै ४ महिना अघि देखि गरिएको मन्थली बजारको एकतर्फी सवारी सञ्चालन शनिबार देखि बन्द गरिएको छ । एकतर्फी आवागमन गरिएको देवकोटाचोक देखि जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क पुग्ने सडक खण्डमा रहेको कजवेमा पानी जमेर सवारी साधनहरु दैनिक रुपमा दुर्घटना हुन थालेपछि हाललाई उक्त दुर्घटनाबाट जोगाउन एकतर्फी आवागमन बन्द गरी माख्लो सडाकबाटनै गाडि गुडाउन थालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बताउनुभयो ।
उक्त सडक खण्ड अन्तर्गत जिल्ला आयुर्बेदिक कार्यालय अगाडिबाट निर्माण गरिएको नालाको पानीलाई त्यहि कजवेमा लगेर छाडिएको र उक्त क्षेत्रको बिपरित दिशाबाट पनि नालाको पानी लगेर त्यहि बिसर्जन गरिएको छ । कजवे आसपासका स्थानीयले पानी आफ्नो निर्माणाधिन घर भित्र पेसेर घरनै भास्सीएको भन्दै पानी कजवेमै थुनिदिएपछि दह जमेको छ ।
उक्त स्थानमा कजवे बनाउँदा प्रयोग गरिएका रडहरु ठाडो परेको र त्यहाँ जमेको पानीले ती रडहरु नदेखिने हुँदा दैनिक जसो मालबाहक ट्रक र मोटरसाइकल दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले बताउनुभयो ।
यस सम्बन्धमा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले उक्त सडक खण्ड कालोपत्रे गर्ने बेलामा पनि पटक–पटक समस्या आएको र धेरै चुनौति सामाना गरेर समाधान गरिएको भएपनि अहिले झन जटिल समस्या आएको स्वीकार गर्नुभयो । उहाँले उक्त समस्याको समाधानका लागि आफू लागि परेको पनि बताउनुभयो ।
मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठले सडक कालो पत्रे गर्नका लागि गरिएिको डिजाइन गर्ने बेलामा आफूलाई जानकारी नै नदिएको र अहिले स्थानीयले उठाएका जायज मागहरुलाई पुरा गर्न कठिनाइ हुँदा यस्तो समस्या आएको बताउनुभयो । उहाँले डिजाइन गर्ने बेलामा समन्वय भएकोभए अहिलेको समस्या नआउने दावी गर्नुभयो । यसैबीच उक्त सडक खण्ड पिच सम्पन्न भैसकेको ४ महिना बित्न नपाउदै कालोपत्रे उप्कीयो भन्ने समाचार बिभिन्न सञ्चार माध्यममा आएपछि टालटुल पारिको एक हप्ता बित्न नपाउँदै उक्त सडक फेरि उप्किन र भासिन सुरु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया