रामेछाप- नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुपर्ने प्रस्ताव पेश गरिने बताउनु भएको छ । नेपाल प्रेस युनियन रामेछापले बिहिबार सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले यस अघिनै आठ सय महाधिवेशन प्रतिनिधिले हिन्दु राष्ट्रको माग गर्दै हस्ताक्षर गरेर पार्टीको केन्द्रमा बुझइसकेकाले पुनः हिन्दु राष्ट्र बनाउने विषय आगामी महाधिवेशनमा पेश हुने तर्क गर्नु भएको हो ।
त्यस्तै वर्तमान सरकारले कुनै नयाँ योजना ल्याउन नसेको टिप्पणी गर्दै जनतालाई समृद्धिको सपनामात्रै बाँड्दै हिँडेको आरोप लगाउँदै कोइरालाले देशको विकास र समृद्धिको लागि उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीभित्रको घात अन्तरघातको कारण काँग्रेस कम्जोर भएको भन्दै पार्टीभित्र अन्तरघात नहुने हो भने काँग्रेसलाई कसैले पनि हराउन नसक्ने दाबी गर्नुभयो । काग्रेको आगामी महाधिवेशन र आगामी निर्वाचनलाई लक्षित गरि निर्वाचनमा पार्टीलाई एक ढिक्का बनाउने उद्देश्यले काँग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको उहाँलको भनाई रहेको छ । पत्रकार सम्मेलनमा काग्रेस केन्द्रिय नेता चन्द्र भण्डारी, नवलपरासी जिल्ला सभापति भरत गुरुङ, नेतृ हिरा गुरुङ, रामेछापका पार्टी सभापति लवश्री न्यौपाने, नेपाली काग्रेस रामेछापका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया