रामेछाप- लिखुतामाकोशी गाउँपालिकामा नेपाली काँग्रेसले कोरोना भाइरसको कारण क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई खाना लगायतका कुरा निःशुल्क उपलब्ध गराउने भएको छ । अहिले लिखुतामाकोशी गाउँपालिकामा १५ जना विरामी अट्ने क्वारेन्टाइन रहेको र त्यहाँ राखिएका शंकास्पद व्यक्ति र विरामीलाई खाना लगायत अन्य आवश्यक पर्ने कुराको व्यवस्था नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाले निःशुल्क उपलब्ध गराउने भएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य भोजराज खड्का सुन्दर, रामेछाप क्षेत्र नं १ का क्षेत्रिय सचिब निरोज खड्का, क्षेत्रिय सदस्य साजन तामाङ, लिखुतामाकोशी गाउँपालिकाका उपसभापति हरि बहादुर खड्का र सचिव दामोदर खड्काद्वारा हस्तक्षरित विज्ञप्तीमा कोरोना विरुद्ध लिखुतामाकोशी गाउँपालिका घर भई नेपाली काँग्रेसको विभिन्न ओहोदामा रहेका नेताहरु मार्फत खर्चको व्यस्था मिलाउने उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तीमा नेपाली काँग्रेसले यस अघि १५ शैयाको क्वारेन्टाइन बनाउन सहयोग गर्ने देखि माक्स, पन्जा, साबुन लगायतका सामाग्री समेत आफूहरुले उलब्ध गराईएको जानकारी गराउँदै रोग नियन्त्रणको लागि स्थानीय सरकारले देखाएको उदासिनता प्रति काँग्रेसको गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
स्थानीय सरकारले स्वास्थ्यकर्मी, औषधी उपकरण लगायतका अत्यावश्यक सामाग्री उपलब्ध गराउने विषयमा गम्भिर नभएको भन्दै आम नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै चाडो उलब्ध गराउन अनुरोध समेत काँग्रेसले गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया