१६ माघ, २०७५
रामेछाप– रामेछाप नगरपालिका–६ पिपलटारमा आगलागीबाट ११ महिने बालक गुमाएका परिवारले जिल्ला विपत्त व्यवस्थापन समिति रामेछापबाट आर्थिक सहयोग पाएका छन् । बुधबार जिल्ला विपत्त व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले अग्नी पीडितको घरमै पुगेर राहत स्वरुप पीडित परिवारलाई एक लाख नगद सहयोग गरेका हुन् । प्रजिअ शर्माले बालककी आमा हरी माया मगरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । गत सोमबार बालकलाई घरमै सुताएर आमाबुबा मेलापात गएको बेला एक्कासी घरमा आगलागी भई हरी माया मगरको छोरा ११ महिने दिपेन्द्र मगरको ज्यान गएको थियो ।
त्यस्तै रामेछाप नगरपालिकाले पनि अग्नी पीडित परिवारलाई ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ । आगलागीबाट दुई ओटा घर पुर्न रुपमा जलेर नष्ट भएकाले प्रति घर २०÷२० हजार गरी ४० हजार र किरिया खर्च बापत २५ हजार गरी जम्म ६५ हजार नगद दिने निर्णय भएको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले बताए । यस अघि आगलागी भएकै दिन नेपाल रेडक्रस सोसाइटी रामेछापले राहत सामग्री वितरण गरीसकेको छ । आगलागीको कारण अहिले सम्म पत्त लागेको छैन् ।
यो बारेमा तपाईको प्रतिकृया