श्रीधर घिमिरे
रामेछाप– दशैं सकिए साँगै जिल्ला प्रशासन कार्यालय रामेछापमा राहदानी र नागकिता लिने सेवाग्राहीको संख्या बढेको छ । डीभीको फर्म भर्न राहदानी नम्बर सहितको अभिलेख अनिवार्य गरिए पछि कार्यालयमा राहदानी बनाउने र नागरिकता लिने सेवाग्राहीको भीड बढेको हो । घर बाहिर रहेर काम गर्ने सर्वसाधरणहरु दशैं मान्न घर आएको मौका छोपी राहदानी र नागरिकता बनाउन आउने गरेको कारणले पनि कार्यालयमा सेवाग्राहीहरुको बढी भिड लाग्ने गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले बताएको छ ।
प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले भन्नु भयो– ‘दशैं सकिएसँगै राहदानी र नागरिकताको लागि आउने सेवाग्राहीको संख्या ह्वत्तै बढेको छ, यस अघि रोजगारीको लागि मात्रै राहदानी बनाउन आउने भएको हुँदा दैनिक २० देखि २५ जनाको हाराहारीमा आउने गर्थे तर अहिले दैनिक ४० जना भन्दा बढीको संख्यामा राहदानीको लागि आउने गरेका छन् । यसरी दैनिक ४० भन्दा बढी राहदानीको लागि मात्रै आउनु भनेको डीभी भर्नको लागि राहदानी बनाउन आउनेको पनि संख्या उतिकै छ ।’
डीभीको फर्म खुल्नु पहिला जिल्लाबाट राहदानी बनाउने र राहादनी विभागबाट बनाउनको लागि सिफारिस लिन आउने झण्डै बराबरी हुन्थे तर, यो एक हप्ताको समयमा विभागबाटै बनाउनको लागि सिफारिस लिन आउनेको संख्या बढी रहेको पनि प्रजिअ केसी पाण्डेले बताउनुभयो । कार्यालयमा राहदानी, नागकिरता र अन्य सेवा लिने सेवाग्राहीको भिड लाग्न थाले पछि राती अबेर सम्म बत्ती बालेर नागरिकलाई सेवा दिइरहेको प्रजिअको भनाई रहेको छ । रामेछापको दुर्गम भुभागबाट सेवाग्राही आउने गरेकाले उनिहरुको कामलाई प्राथमिकतामा राखेर राती सम्म बत्ती बालेरै भए पनि सेवा दिइरहेको प्रजिअ लिला कुमारी केसी पाण्डेले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया