३० बैशाख, २०७६
रामेछाप– राष्ट्रिय सूचना आयोगका आयुक्त किरण कुमार पोखरेलले सूचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिम आम नागरिकले सहज तरिकाले सूचना पाउनु पर्ने बताउनु भएको छ । सोमबार राष्ट्रिय सूचना आयोगद्वारा रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा बोल्दै आयुक्त पोखरेलले लोकतान्त्रिक मुलुकको बिषेशता भनेको राज्यका हरेक सार्वजनिक निकायबाट सम्पादन हुने कामको बारेमा सर्बसाधरणले सहजै जानकारी पाउनु रहेको बताउनु भएको थियो ।

राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रममा उहाँले लोकतन्त्रको संस्थागत विकास र संघियताको कार्यान्वयनका लागि सूचनाको हक सम्बन्धि ऐनको महत्वपूर्ण भूमिका हुने भन्दै राज्यका हरेक निकायले नागरिकले मागेका सूचनाहरु सहजै उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेले सूचनाको हक कार्यान्वयनमा जिल्लामा केही समस्या रहेकाले आफूले जिल्लाका सबै कार्यालयमा सूचना अधिकारीको ब्यवस्था गरि नागरिकले सूचना पाउने अधिकारलाई पूर्ण कार्यान्वयन गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
रामेछापका कार्यालयहरुमा हरेक व्यक्तिले सूचना माग गर्दा भोग्नु परेका समस्या राख्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले जिल्लाका सरकारी कार्यालय र स्थानीय तहका सूचना अधिकारीहरुबाट पूर्ण रुपमा सूचना नआएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नागरिकले पाउँनु पर्ने सूचना सहजै नपाउँदा उनीहरुले अनावश्यक दुःख झेल्नु परीरहेको छ ।’
नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्रि नयाँघरेले सूचना सम्बन्धि कार्यक्रमहरु यस अघि पनि पटक–पटक हुने गरेको भएपनि त्यसबाट खासै उपलब्धि नभएको बताउनु भयो । पत्रकार नबराज पथिकले कार्यालयहरुमा सामान्य सूचना माग गर्दा त्यस्ता सूचना पनि नपाइएको गुनासो गर्नुभयो । पत्रकारलाई मात्रै सूचना दिनु पर्छ भन्ने मानसिकता कार्यालयहरुमा रहेकोले त्यसले सुशासन कायम हुन नसक्ने पनि उहाँले बताउनुभयो ।

नागरिक समाजका अगुवा रामचन्द्र बियोगिले सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम नागरिकले मागेको सूचना पाउँने समय धेरै लामो भएको भन्दै सूचना मागेको २४ घण्टा भित्र दिने गरी कानून संसोधन गरिनु पर्ने माग गर्नुभयो । गैसस महासंघका उपाध्यक्ष रत्न कडेलले सूचनाको हक सम्बन्धि ऐन, २०६४ र नियमावली ६५ बमोजिम नागरिकले मागेको सूचना पाउँने कुरामा अधिकासं कार्यालयहरू गम्भिर नदेखिएको भन्दै नागरिकहरूले सहज रुपमा सूचना पाउने गरी ब्यबस्था मिलाउन जिल्ला सरकारी कार्यालय र स्थानीय तहलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापामगर, नेकपाका नेता आनन्द श्रेष्ठ, नेपाली काग्रेसका सभापति लवश्री न्यौपाने, समाजबादी पार्टीका नेता पेशल तामाङ, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुङ्गेल लगायतले सूचनाको हक सम्बन्धि ऐन कार्यान्वयनका लागि सबै एक भएर लाग्नु पर्ने धाराणा राखेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया