२७ असार, २०७६
मन्थली– जिल्लाको उच्च भूभागमा वर्षा यामको समयमा नियमित पानी परेर हरीयाली भए पनि सदरमुकाम मन्थलीमा सधैँ जसो खडेरीकै कारण सुख्खा र फुस्रो देखिने खाली जमिनमा बोट विरुवा रोपेर हरीयाली बनाउने अभियानमा मन्थली माविका विद्यार्थी र शिक्षक जुटेका छन् ।
गत जेठ महिनाबाटै विद्यालय परिसर र विद्यालयको आसपासमा रहेका सामुदायिक वनमा सधै जसो सुख्खा देखिने डाँडापाखालाई विरुवा रोपेर हरीयाली बनाउने अभियान अन्तरगत हाल सम्म दुई सय भन्दा बढी विरुवा रोपी सकिएको मन्थली माविका शैक्षिक प्रमुख चन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
५५ रोपनीमा फैलिएको विद्यालय परिसरमा यस वर्ष पाँच सय विरुवा रोप्ने लक्ष्य रहेको र विरुवा रोप्ने अभियान साउन महिना सम्म चल्ने उहाँले बताउनुभयो । विरुवा रोप्ने कार्यमा मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका विद्यार्थीको पनि सहभागिता रहेको छ ।
लामो समय देखि सुख्खा र फुस्रो देखिने विद्यालय आसपासका डाँडापाखाहरुलाई हरीयाली बनाउन सके मन्थलीको सुन्दरता सँगे वर्षा याममा आउन सक्ने विपत्तलाई समेत रोक्न मद्धत पुग्ने विश्वासका साथ बृक्षारोपणको अभियान थालिएको विद्यालयको भनाइ रहेको छ । नगरपालिकाले विरुवा रोपणमा मन्थली नगरपालिकाले पनि सहयोग गरेको छ । विरुवमा पानी हाल्नको लागि आवश्यक पाइप, ड्रम लगायतका सामाग्री सहयोग गरेको छ ।
काठ जातका क्यासियो र निम सँगै फलफूल जातका आँप, लिची लगायतका विरुवा रोप्ने कार्य भइरहेको छ । मन्थली माविले विरुवा रोप्ने कार्यमा सबैलाई सहयोग गर्न आग्रह समेत गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया