रामेछाप,१ असार । जिल्लालाई आलु र आलुको बिउमा आत्मा निर्भर बनाउने उद्देश्यले नेपाल सरकारले सञ्चालन गरेको आलु जोन कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ ।

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत आलु जोन कार्यक्रम घोषणा गरी त्यसको उत्पादन सँगै व्यवसायीकरणमा समेत सहयोग हुन थालेपछि कृषकहरू आलुको उत्पादनमा आकर्षित भएका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापमा लागु भए सँगै व्यवसाय गर्न चाहने र जाँगर भएका कृषकहरूको फर्म वा सहकारी समूहहरूलाई निश्चित मापदण्डका आधारमा परियोजनाले व्यावसायिक योजना,अनुदान सँगै स्थलगत रूपमा प्राविधिक सहयोग र सल्लाह उपलब्ध गराउँदै आएको छ । जसका कारण पनि गोकुलगंगा गाउँपालिकामा आलुको उत्पादनमा वृद्धि भएको गोकुलगंगा गाउँपालिका–३ का वडा अध्यक्ष नर विक्रम कार्कीले बताउनुभयो । आलु जोन कार्यक्रममा आफ्नो वडा छनौट भएपछि आलुको उत्पादनमा आफ्नो गाउँपालिकाले उल्लेख्य प्रगति गरेको पनि कार्कीको अनुभव छ । तसर्थ आलुको उत्पादन सँगै बजारीकरणमा पनि गोकुलगंगा र उमाकुण्डको आलुले अर्थपूर्ण भूमिका खेलेको पनि कार्की ले बताउनुभयो ।
जस अन्तर्गत बिहीबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जिल्लाका सरोकारवाला पक्षहरू समेतलाई स्थलगत रूपमा लगेर आलु जोनमा परियोजनाको लगानी र त्यसको अवस्थाका बारेमा जानकारी दिने काम गरेको थियो । जस अन्तर्गत परियोजनाले जिल्लाको ठुलो आलु फर्मका रूपमा चिनिएको गोकुलगंगा गाउँपालिका ३ स्थित हिमालय पोटेटो रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरको प्रगति र त्यसको अवस्थाका बारेमा स्थलगत अनुगमन पनि गरायो ।
आलु सँगै किवी र ट्राउट माछाको समेत व्यवसायीकरणमा जोड दिएको उक्त फर्मका लागि चालु आवमा परियोजनाले आलुको बिउ उत्पादनका लागि आलु टिस्यु कल्चर ल्याब स्थापनका लागि २० लाख रुपैयाँ अनुदान उपलब्ध गराउन लागेको छ । त्यस सँगै अनुगमनमा गएको टोलीले गोकुलगंगा १ चुचुरेको खड्का कृषि तथा गाई भैँसी फर्म र सोही पालिका ५ को पञ्चमुखी पशुपालन कृषि सहकारी संस्थाको पनि अनुगमन गरेको थियो । उक्त फर्मका लागि सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भार र आलुको बिउ वितरण कार्यक्रम अन्तर्गत १ लाख ५० हजार रुपैयाँ अनुदान दिने निर्णय भएको थियो ।
गोकुलगंगामा परियोजनाले गरेको लगानी, कृषि फर्म र समूहको अवस्थाका बारेमा जानकारी दिलाउन बिहीबार परियोजनाले जिल्ला समन्वय समितिका प्रमुख चिना कार्की सहित जिल्लाका अन्य सरोकारवालाहरु समेतको रोहवरमा स्थलगत रूपमै अनुगमन गराएको थियो । सो क्रममा जिल्ला समन्वय प्रमुख खड्काले स्थलगत अनुगमनका क्रममा कृषक र तिनका समूहले गरेको प्रयास र मेहनत प्रति खुसी व्यक्त गर्नु भएको थियो ।
परियोजना रामेछापका प्रमुख थिर लाल गैरेले कार्यालयले गरेको लगानी र त्यसबाट कृषक तथा तिनका समूहमा पुगेका र पुग्ने सक्ने पाइँदाका बारेमा जानकारी गराउनुभएको थियो । गैरैले गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाबाट मात्र गत बर्ष ५ करोड रुपैयाँको आलु निर्यात गरेको जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया