रामेछाप १८ माघ । जिल्ला समन्वय समिति रामेछापले जिल्लाका २ वटा स्थानीय निकायलाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति रामेछापले बुधवार आव २०७९÷०८० को आफ्नो वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा आफूले गरेको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मन्थली नगरपालिका र स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा रामेछापमा नगरपालिकाले उत्कृष्ट अङ्क प्राप्त गर्न सफल भएको भन्दै कदर प्रत्रद्धारा सम्मान गरिएको हो ।
सम्मानित दुवै पालीकाका प्रमुख हरूलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रतिनिधि सभाका सदस्य पूर्ण बहादुर तामाङले, प्रदेश माननीयहरू जिल्लाका सबै स्थानीय सरकारका प्रमुख उप प्रमुख,विषयगत कार्यालयका प्रमुखहरू र नागरिक समाजका सङ्घ संस्थाका रोहबरमा औपचारिक कार्यक्रमका बिच सम्मान गरेका थिए ।

सो अवसरमा उनले सरकारी मापदण्डका आधारमा जिल्ला समन्वय समितिले सबै पालिकाहरू समेतलाई समावेश गरी गरेको मूल्याङ्कनमा दुई वटा फरक फरक विधामा उत्कृष्ट अङ्क ल्याउन सफल दुवै पालिकाका प्रमुख हरूलाई बधाई दिँदै आगामी वर्षबाट अन्य स्थानीय निकायहरूलाई पनि मुुल्याँकनको कसीमा आउने गरी काम गर्न पनि आग्रह गरे । उनले जिल्लाको समग्र विकासको मुल प्रवाहका लागि जन प्रतिनिधि,सरकारी कर्मचारी र नागरिक समाजको समेत उत्तिकै हात रहेको भन्दै जिल्लाको विकासमा सबैलाई एक जुट भएर लाग्न पनि आग्रह गर्नु भयो ।
हरेक वर्ष जिल्ला समन्वय समितिले जिल्लाका अधिकार प्राप्त सबै सरकारी कार्यालयहरूलाई आमन्त्रण गरी उनीहरूले एक वर्षको बिचमा गरेको कामको वार्षिक प्रगति समीक्षा गराउनु पर्नै सरकारी प्रावधान अनुसार उक्त समीक्षा कार्यक्रमको आयोजना गरेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी भुवनेश्वर लामिछाने जानकारी गराए ।
सङ्घीय र प्रदेश सरकार अनि स्थानीय निकाय वाट प्राप्त बजेट वाट सञ्चालन भएका योजनाको दीर्घकालीन अवस्था गुणस्तरीयता र सम्बन्धित कार्यालयहरूको बेरुजुको अवस्थाका बारेमा जानकारी लिने दिने उद्देश्यले आयोजना गरिएको उक्त समीक्षा कार्यक्रममा ८ वटा स्थानीय निकायका प्रमुख र २२ वटा विषयगत सरकारी कार्यालयका प्रमुख तथा तीनका प्रतिनिधिहरूले आफ्नो कार्यालयको तर्फबाट प्रस्तुति गरेका थिए ।
बिहान ९ बजे देखि राति ९ बजे सम्म सक्रियता पूर्वक चलेको उक्त कार्यक्रममा सङ्घीय तथा प्रदेश सांसद,गाउँपालिकाका प्रमुख र उप प्रमुख र जिल्ला स्थित सबै राजनीतिक दलका प्रतिनिधि,नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लगायतका सञ्चार माध्यमका प्रतिनिधि समेतको उपस्थितिमा भएको उक्त कार्यक्रममा कतिपय कार्यालयहरूको काम र भएका प्रगति प्रति यहाँका जनप्रतिनिधि र राजनीतिक दलले चर्को असन्तुष्टि जनाएका छन् । सो क्रममा दोरम्बा शैलुङ्ग गाउँ पालिकाका अध्यक्ष मैन कुमार मोक्तानले त कुनै पनि कार्यालयहरूले आफ्नो पालिका भित्र काम गर्दा समन्वय नगरी गरेको र आगामी दिनमा यस्तो भएमा कुनै पनि कार्यालयलाई सहकार्य नगरे पालिकाभित्र कामै गर्न नदिने चेतावनी समेत दिए ।
बुधवार जिल्ला समन्वय समितिको सभा हलमा भएको गत आर्थिक वर्ष ०७८÷०७९ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा जिल्लाका विकासे कार्यालय र सेवा प्रदायक कार्यालयहरूको जिम्मेवारी प्रति प्रश्नै प्रश्नको ओइरो लागेपछि कार्यालय प्रमुखहरू निरही बनेका छन् । जनतासँग प्रत्यक्ष रूपमा जोडिएर सेवा प्रवाह गरेको दाबी गर्दै आएका कार्यालयहरूको भूमिका प्रति जनप्रतिनिधिहरूले नै तिखो प्रहार गरेपछि कार्यालय प्रमुखहरू नाजवाफ बन्न पुगेका हुन् । सो अवसरमा उनीहरूले राज्यवाट प्राप्त वजेटको दुरुपयोग कतैबाट पनि हुनु नहुने भन्दै सबै कार्यालयहरूलाई सुशासनका आधारमा पारदर्शी तरिकाले दूरदर्शी सोचका साथ काम गर्न आग्रह गरेका थिए ।
समीक्षाका क्रममा विशेष गरी विकासे र नागरिक सँग प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार विकास कार्यालय, जलश्रोत तथा सिँचाइ डिभिजन, डिभिजन वन कार्यालय, सघन सहरी विकास तथा भवन आयोजना, भू–तथा जलधारा संरक्षण, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन, खानेपानी तथा सरसफाइ डिभिजन नं ४ ले सम्पन्न गरेका कार्य प्रति जनप्रतिनिधिहरू र राजनीतिक दलले रुष्टता व्यक्त गरेका थिए । त्यसै गरी दोरम्बा लगायत कतिपय गाउँपालिकाले गरेको काम र जबाफदेही सुशासनको अवस्थाका बारेमा पनि राजनीतिक दल र सञ्चारकर्मीहरूले कुरा उठाएका थिए । जनप्रतिनिधि र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले योजना कसरी ? कहाँ ? कस्तो ? कहिले ? किन सम्पन्न गरियो भन्दै जस्ता प्रश्न गरेपछि कतिपय कार्यालय प्रमुखहरू अक्क बक्क भएका थिए ।
प्रदेश सांसद द्वय युवराज चौलागाई र आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय प्रमुख चिना खड्का (कार्की), उपप्रमुख प्रेम सागर थापा, अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख, मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, सुनापति गाउँपालिकाका प्रशासकीय अधिकृतहरू उपस्थित कार्यक्रममा सङ्घ र प्रदेश अन्तर्गतका कार्यालय प्रमुख र जनप्रतिनिधिहरू बिच चर्काचर्की परेको हो ।
समीक्षामा खास गरी रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपाने र गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश), दोरम्बा सैलुङ्ग गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तान लगायतले कतिपय विकासे कार्यालयहरूले अहिले सम्म पनि नागरिकहरूलाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न नसकेको भन्दै कार्य शैलीमा परिवर्तन गर्न सुझाव दिएका थिए ।
त्यसैगरि मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले पनि स्थानीय तहसँग कार्यलयहरुले सहकार्य नगरिदिँदा योजना दोहोरो परेको र गुणस्तरीयतामा पनि प्रश्न उठ्ने बाटो बनेको भन्दै सच्चिन आग्रह गरे । समीक्षामा उनीहरूले कतिपय प्राविधिकहरूले योजनामा कमिसनका लागि बार्गेनिङ गर्ने गरेको गुनासो उपभोक्ता समितिबाट बारम्बार आउने गरेको बताउँदै यस खालको काम भएको भए तत्काल बन्द गर्न पनि चेतावनी दिएका थिए ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख चीना खड्काको अध्यक्षतामा भएको उक्त समीक्षाका क्रममा कार्यालय प्रमुखहरूले भने माथिल्लो निकायबाटै बजेटको शीर्षक तोकिएर आउने हुँदा आफूहरूले चाहेको ठाउँमा काम गर्न नसकेको स्वीकार गर्दै नीतिगत रूपमा विकासको काममा हुने ढिलासुस्तीले गर्दा कतिपय काम र योजनमा आफूहरूले विना कारण पनि अपजस भोग्नु परेको भन्दै आगामी दिनमा स्थानीय सरकार सँगको सहकार्यमा काम गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाएका थिए । समीक्षाका क्रममा प्रमुख खड्काले सुशासन र जिल्लाको विकासमा जन प्रतिनिधि,कर्मचारी र राजनीतिक दल र नागरिक समाज समेत उत्तिकै जिम्मेवार हुने भएकोले सबै पक्षलाई इमानदार पूर्वक अगाडि बढ्न आग्रह गर्दै सबै सहभागीलाई धन्यवाद पनि दिइन् । समय अभावका कारण देखाउँदै राति अबेर सम्म चलेको समीक्षामा सबैजसो जन प्रतिनिधि र कार्यालय प्रमुख जिम्मेवार पूर्वक समीक्षामा बसेर सबै पक्षका कुरा सुनेका थिए ।











यो बारेमा तपाईको प्रतिकृया