रामेछाप २० पुस । बुधवार आफनोे १४ औँ हिउँदे नगर सभा सम्पन्न गरेको रामेछाप नगरपालिकाले बिहीबार सभाले गरेको निर्णय सार्वजनिक गरेको छ । नगरले आफ्नो सभा हलमा पत्रकार सम्मेलनमा आयोजना गरी सभाले गरेको निर्णयका बारेमा सार्वजनिक गरेको हो ।
नगर प्रमुख लव श्री न्यौपाने र उप प्रमुख बाल कुमारी कार्कीको विशेष उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा रामेछाप नगरपालिकाका प्रबत्ता समीर कार्कीले नगर सभामा भएका निर्णयहरू सार्वजनिक गर्नुभएको हो ।
सभाले विगतमा रकम विनियोजन भई अधुरो अवस्थामा रहेका सङ्घीय र प्रदेश सरकार तर्फका क्रमागत योजनाहरूलाई पनि आगामी योजनामा समावेश गर्न क्रमशः सङ्घीय र प्रदेश सरकार सँग माग गर्ने निर्णय भएको पनि प्रवक्ता कार्कीले जानकारी दिनु भएको थियो ।
पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेखित विवरण अनुसार नगरले चालु र पुँजीगत गरी हालसम्म २०.८६ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको छ । सभाले नगरपालिकाले उक्त अवधि सम्म पुँजीगत तर्फ १ करोड ७१ लाख १ हजार ६ सय ९१ रुपैयाँ गरी कुल बजेटको ७.१४ प्रतिशत मात्र खर्च भएको उल्लेख गरेको छ । यसै गरी नगरपालिकाले चालु र पुँजीगत गरी हालसम्म २०.८६ प्रतिशत मात्र वित्तीय प्रगति हासिल गरेको रामेछाप नगरका प्रवक्ता समीर कार्काले जानकारी दिनु भयो ।
त्यसैगरि नगरपालिकाबाट चालु आ.व २०८०÷८१ मा चालु तर्फ रु ५० करोड ८१ लाख ५३ हजार ९ सय ४५ र पुँजीगत तर्फ रु २५ करोड ५ लाख ५३ हजार ६ सय ९६ गरी जम्मा रु ७५ करोड ८७ लाख ७ हजार ६ सय ४१ रुपैयाँको वार्षिक योजना तथा कार्यक्रम रहेकोमा हालसम्म चालु तर्फ १४ करोड ३ लाख ६७ हजार ८ सय ९९ अर्थात् २७.६२ प्रतिशत मात्र खर्च भएको कुरा पनि पत्रकार सम्मेलनका क्रममा प्रवक्ता कार्कीले जानकारी दिनु भयो ।
त्यसैगरि नगर सभाले विनियोजन ऐन २०८० लाई संशोधन गर्ने सम्बन्धमा बनेको विधेयक २०८० को मस्यौदा माथि सभामा छलफल भई सर्व सम्मत रूपमा पारित गरेको छ । चालु आ.व.०८०÷ ८१ को हाल सम्म नगर कार्यपालिकाको बैठकमा भएका निर्णयहरू सभामा छलफल भई सभाले अनुमोदन गरेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।











यो बारेमा तपाईको प्रतिकृया