
मन्थली,१० साउन । जिल्ला ट्राफिक कार्यालय रामेछापले शुक्रवारदेखि औपचारिक रुपमा आफ्नै भवन पाएको छ ।
नव निर्मित भवन शुक्रवार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले एक समारोहका विच उद्घाटन गरे सँगै कार्यालयले औपचारिक रुपमा नीजि भवन पाएको हो ।
सो अवसरमा बोल्दै मन्त्री लामिछानेले प्रदेश सरकार प्रदेशको सुरक्षा चुनौतीसँग जुध्न प्रहरी सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन लागिपरेको बताउनुभएको छ । उहाँले प्रदेशभरी रहेका प्रहरी कार्यालयहरूलाई व्यवस्थित गर्न प्रदेश सरकारले हालसम्म ३ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेर कार्यान्वयनमा लगेको पनि बताउनुभयो ।
उहाँले भौतिक संरचना सुदृढीकरणले जनताप्रति उत्तरदायी प्रहरी सेवा दिन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
‘जनताको जीउधनको सुरक्षा गर्नु प्रहरीको दायित्व हो, सेवा र सुविधाको अभिवृद्धिले प्रहरी प्रशासन अझ सशक्त र जिम्मेवार बन्छ’, उहाँले भन्नुभयो ।
उहाँले नेपालमा दिनहुँ जसो बढ्दो सवारी चाप, सडक अवस्था र लापरबाहीका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै प्रहरीले यसलाई अवसरका रूपमा लिएर सेवा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा वागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) अरुण पौडेलले ‘वागमती प्रदेशभरी जम्मा ६ हजार प्रहरी भएको र जसमध्ये ट्राफिक तर्फ करिब ३०० जना मात्र कार्यरत हुँदा प्रभावकारी सेवा प्रवाहका लागि कठीनाई भैरहेको बताउनुभयो ।
उहाँले प्रहरी जनशक्ति र पूर्वाधार अभावका कारण धेरै ठाउँमा चौकी थप र भवन निर्माणको माग बढ्दो रहेको पनि बताउनुभयो । ‘हामीसँग उपलब्ध स्रोतले माग धान्न सकिरहेको छैन, अझै धेरै ठाउँमा प्रहरी चौकीका लागि आवश्यक पूर्वाधार नै छैन’, उहाँले भन्नुभयो ।

३ करोड ८ लाख रुपैयाँ को लागतमा नव निर्मित भवनको भुई तला सहित चारतला र कम्पाउण्ड भित्र प्रतिक्षालय पनि रहेको छ ।
यो भवन निर्माणको ठेक्का ब्रह्मायणी–विरुपाक्ष–बिजी जेभीले २०८० असोज ८ गते सम्झौता गरेर थालेको थियो ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका सहभागीलाई रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले स्वागत गर्नुभएको थियो ।
सुविधा सम्पन्न भवन निर्माणसँगै रामेछापमा ट्राफिक सेवा अझ व्यवस्थित हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया