रामेछाप ६ पुस । मन्थली नगर स्तरीय छैटो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८० आजबाट सदरमुकाम मन्थलीमा सुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन सङ्घीय सांसद पूर्ण बहादुर तामाङले एक समारोहका बिच गर्नु भएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सांसद तामाङले खेलकुदको विकास विना राष्ट्रको विकास सम्भव नभएकोले सरकारले खेलकुदको क्षेत्रमा लगानी गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले खेलकुद विकासको गतिसँगै शैक्षिक विकासको गतिलाई पनि उत्तिकै महत्वदिनु पर्ने भएकोले यसको सुधारका लागि नीतिगत रूपमा रहेका जटिलताहरू फुकाउनु आवश्यक रहेको र त्यसका लागि आफूले पनि संसदमा कुरा राख्ने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद तारा नारायण श्रेष्ठले अहिले राज्यले खेलकुदको क्षेत्रमा गरेको लगानी अपुग भएको भन्दै यसको दायरालाई फराकिलो पारेर अगाडि बढ्नका लागि पनि सुझाव दिनु भये । सबै तहका सरकार गम्भीर हुनु पर्ने धारणा राख्नुभयो ।
सो अवसरमा बागमती प्रदेशका अर्का सांसद आनन्द कुमार श्रेष्ठले खेल मानव जीवनको महत्त्वपूर्ण अङ्ग रहेको भन्दै यसको थप विकासका लागि लागि पर्न सरोकारवाला पक्षलाई आग्रह गर्नु भयो । उहाँले सबै स्थानीय सरकारको लगानी र इच्छा शक्तिले मात्र खेलकुदको विकासमा आशातीत सुधार हुन नसक्ने भन्दै यसका लागि आफू पनि लागि पर्ने धारणा राख्नु भयो ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय रामेछापकी प्रमुख चीना कार्की ,प्रमुख जिल्ला अधिकारी अनिता निरौला,नेकपा एमालेका प्रतिनिधि महेश श्रेष्ठ,ए नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दीपक प्रसाईँ,नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतका वक्ताहरूले खेलकुदको गतिविधिलाई हरेक पालीकाका वडा स्तर सम्म विकास गर्न आग्रह गर्नु भएको थियो ।
सो अवसरमा नगर भित्र रहेका २२ वडा माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक समेतको सहभागिता रहेको थियो ।खेलकुद आगामी आइतबार समापन गर्ने गरी कार्यक्रम तय भएको आयोजक पक्षले जनाएको छ ।
कार्यक्रमको उद्घाटन अघि सहभागी २२ विद्यालयहरूले प्रतियोगितात्मक मार्च पास गरेका थिए । मार्च पासमा मन्थली मावि मन्थली प्रथम,भीमेश्वर रुद्र मावि चिसापानी तद्धित र कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुल मन्थलीले तृतीय स्थान प्राप्त गरेका थिए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सांसद पूर्ण बहादुर तामाङले प्रति विद्यालय नगद १० हजार ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।
शुक्रवार शनिवार र आइतबार गरी तीन दिन सम्म सञ्चालन गरिने उक्त प्रतियोगिताका विभिन्न खेल विधा खेलाउनका लागी एकै ठाउँबाट सम्भव नहुने भन्दै एथलेटिक्स लगायत सवै खाले दौड प्रतियोगिताका लागि हाटे चउर स्थित मावि नाग कन्या को मैदान, भलिबल प्रतियोगिता लागि जिल्ला समन्वय समितिको मैदान र हाई जम त्रीपलजम लगातका खेलका लागि तीनलाल पर्यटकीय पार्कमा व्यवस्था मिलाएको मन्थली नगरपालिकाले जनाएको छ ।












यो बारेमा तपाईको प्रतिकृया