
मन्थली २१ पुष । जिल्लाकाे एक मात्र दुग्ध सहकारी संस्था मन्थली दुग्ध सहकारीको पाँचौँ वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । शनिवार मन्थलीमा भएको साधारण सभाले ४ वर्षे कार्यकालका लागि संस्थाका निवर्तमान सचिव ध्रब कुमार थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको हो । साधारण सभाले थापाकाे नेतृत्वमा सर्व सम्मत रूपमा चयन गर्दै सम्पन्न भएको उक्त समितिको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमशः ज्ञानु खड्का कार्की,केशर पौडेल र विष्णु बुढाथोकी चयन भएका छन् । त्यसैगरी समितिका सदस्यहरूमा क्रमशः निर्वतमान अध्यक्ष डुकुना घिमिरे पोखरेल, दीप कुमार थापा,किशोर पौडेल,यज्ञ प्रसाद ढुङ्गेल लगायत रहेको साधारण सभा निर्वाचन समितिका संयोजक हिमाल ढुङ्गेलले जानकारी दिनुभयाे ।

संस्थाकी अध्यक्ष डुकुना घिमिरे पोखरेलको अध्यक्षतामा भएको साधारण सभाले सचिवको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पनि सर्व सम्मत रूपमा पारित गरेको थियो । २०७६ सालबाट सञ्चालनमा आएको मन्थली दुग्ध सहकारी संस्थामा हाल १ सय ४३ जना शेयर सदस्य आबद्ध भएर दुग्ध उत्पादकहरूको हक, हित र उत्पादित दूधको बजारीकरणको काम भइरहेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।
साधारण सभामा मन्थली नगरपालिका-१ का गाई पालक किसान होतराज ढकालले किसानहरूले गाईलाई खुवाउन ल्याएको पराल ढुवानी गराउँदा ट्राफिक प्रहरीले १० ठाउँ रोकेर चिट काट्ने र ठाउँ–ठाउँमा रोक्ने गर्दा हाम्रा किसानले बेकारको झन्झट र दुख खेप्नु परेको घटनाले आम किसानहरूलाई थप आर्थिक बोझ परेको गुनासो गर्नु भयो । उहाँले भन्नु भयो ‘यो माग सम्बोधन नभए सबै दुग्ध किसान एक भएर रामेछाप उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालय घेराउ गर्छौ । उहाँले उठाएको मागलाई उपस्थित किसानहरूले पनि सही समयमा मुद्दा उठेको भन्दै त्यसमा सहमति जनाएका थिए ।
उक्त साधारण सभाले हाल सम्म बचत तर्फ २० लाख ७७ हजार ४ सय ३८,शेयर तर्फ ३ लाख ९६ हजार २ सय रुपैयाँ, चालु दायित्व तर्फ १ लाख ७१ हजार र विभिन्न कोषमा ९४ हजार ६ सय ५५ रुपैयाँ गरी कुल २५ लाख ८५ हजार ४ सय ४० रुपैयाँ बरवरको वासलात विवरण पनि पारित गरेको थियो ।
साधारण सभामा जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल,नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे,रामेछाप उद्योग वाणिज्य सङ्घका सचिव यज्ञ सुवेदी, संस्थाका सल्लाहकार भानु श्रेष्ठ लगायतका वक्ताहरूले नयाँ निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै रामेछाप दूधमा आत्मनिर्भर भएकोमा खुसी व्यक्त गर्नु भएकाे थियाे । उहाहरूले जिल्सलामा सञ्चालित डेरीहरूले समेत दुग्ध किसानहरूलाई बजारीकरणमा सहयोग गर्दै आएकोमा यसको परिणामलाई अझ बढाउनु पर्ने कुरामा पनि जोड् दिनु भएको थियो ।











यो बारेमा तपाईको प्रतिकृया