रामेछाप । रामेछाप जिल्लाको राजधानी पालिका मन्थली नगरपालिका चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा विनियोजित बजेट मध्य कुल २२ प्रतिशत बजेट मात्र खर्च गरेको छ । उक्त कुराको जानकारी नगरले बुधवार आफ्नै सभा हलमा भएको १४ औँ नगर सभाका अवसरमा जानकारी गराएको हो ।
नगर सभालाई सम्बोधन गर्दे नगरप्रमुख लव श्रेष्ठले नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा जम्मा भएको १ अर्ब १३ करोड ५ लाख ४३ हजार रुपैयाँ मध्ये पुसको तेस्रो हप्ता सम्म आई पुग्दा पुँजीगत तर्फ १२ प्रतिशत र चालु तर्फ २७ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभएको थियो ।
नगर पालिकाको तर्फबाट प्रस्तुत गत साउन देखि पुस महिना सम्मको संक्षिप्त प्रगति प्रतिवेदन वाचन गर्दै नगर प्रमुख श्रेष्ठले हाल सम्म नगरपालिकाबाट स्वीकृत भएका ठुला साना गरी ३ सय ५१ वटा योजना र कार्यक्रम मध्ये १ सय १२ वटा योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको बताउनु भयो । आफ्नो प्रस्तुतिमा उहाँले जसमध्ये ४१ वटा योजनाको काम सम्पन्न भइसकेको र यस वर्षका २ सय ३९ वटा योजना सम्झौता हुन बाँकी रहेको जानकारी पनि दिनुभयो ।
जिल्ला स्थित आम सञ्चार माध्यमका प्रतिनिधिहरू समेतको रोहबरमा सबै वडाका अध्यक्ष कार्यपालिकाका सदस्य तथा नगरका शाखा प्रमुख लगायतका कर्मचारी समेतको उपस्थितिका बिच नगरप्रमुख श्रेष्ठले यो अवधिमा आन्तरिक राजश्व तर्फ ४ करोड ४३ लाख आम्दानी हुने अपेक्षा राखिएकोमा लक्ष भन्दा कम १ करोड ३२ लाख ९५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको पनि आफ्नो प्रगति विवरण मार्फत जानकारी दिनुभयो ।
आफ्नो प्रस्तुतिका क्रममा प्रमुख श्रेष्ठले नगरपालिकाको मुख्य आम्दानीको स्रोत ढुङ्गा, गिटी, बालुवा नै भएकोमा उक्त चिजको ठेक्का लाग्न नसकेको कारण नगर पालिकामा लक्ष्य अनुसारको राजश्व सङ्कलन हुन नसकेकोले बजेटका कारण पनि नगरले लक्ष्य अनुसारको काम समेत गर्न नसकेको बताउनु भयो ।

त्यसैगरि कार्यक्रमका अध्यक्ष समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले नगरले संवृद्ध नगरको परिकल्पनालाई साकार पार्न मन्थली नगर भित्रको कृषि क्षेत्रको पहिचान गरी कृषिको प्रवर्धन र कृषक हरुको प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान वितरणको कामलाई पनि जारी राखेको बताउनु भयो ।
त्यसै गरी उत्साहित युवा तथा व्यवसाय मार्फत आफ्नो भविष्य खोज्न चाहने कृषक हरुको हकमा समूह र फार्ममा आधारित कृषिलाई प्रोत्साहन गर्दे रैथाने बालीको प्रवर्धन गर्ने जस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी पनि उहाँले दिनुभयो ।
यसै गरी ब्यवसायीक कृषक हरूलाई थप आकृषित गराउँदै उनीहरूको आय आर्जनमा समेत विस्तार गर्ने उद्देश्यले पशुहरूमा कृत्रिम गर्भाधान, लम्पिस्किन, पीपीआर लगायतका नयाँ खालका रोग विरुद्धको औषधि तथा भ्याक्सिन र रेबिज विरुद्धको खोप तथा सामुदायिक कुकुरको बन्ध्याकरण जस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी पनि उहाँले गराउनुभयो । त्यसै गरी नगरले छोटो समयमा मन्थली नगरपालिका दूध जन्य सामाग्रीको उत्पादनमा राम्रो काम गरी रहेकोले दूध डेरीहरू मार्फत दूध बेच्ने किसान हरुका लागि सहयोग स्वरूप प्रतिलिटर दुई रुपैयाँ अनुदान दिँदै आएको पनि उहाँले आफ्नो प्रस्तुतिका क्रममा बताउनु भयो ।
त्यसैगरि प्रमुख श्रेष्ठले संवृद्ध नगरको परिकल्पनालाई साकार पार्न समुदायमा आधारित लघु उद्यमी सिर्जना र विकासका लागि रोजगार कार्यक्रम सञ्चालन गर्नुका साथै त्यस्ता उद्यमीलाई तालिम र प्रविधि हस्तान्तरणको कार्यक्रमलाई पनि सँगै लगेको जानकारी पनि श्रेष्ठले दिनुभयो ।
त्यस्तै मन्थलीको सानी मदौमा निर्माण भएको चिस्यान केन्द्रको बाँकी काम अधुरो रहेको र उक्त कार्यलाई पूर्णता दिनका लागि पनि नगर सँग बजेट अपुग भएकोले सोको पूर्ण कार्य सम्पादनको लागि बागमती प्रदेश सरकारलाई अनुरोध गरिएको जानकारी पनि उहाँले गराउनु भयो ।
नगर प्रमुखको प्रस्तुतिका क्रममा यस अबिधिमा नगरपालिका भित्रका ७६ वटा विद्यालय मध्ये ४१ वटा विद्यालयमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट प्रधानाध्यापक नियुक्त गरिनु पनि सुखद पक्ष रहेको बताउनु भयो ।
त्यसै गरी नगरले पूर्वाधार तर्फ नगरपालिकाको वडा नं ८ को वडा कार्यालय भवन निर्माण भई सेवा सञ्चालनमा आएको, वडा नं ७ को निर्माण सम्पन्न भएको, वडा नं ३, ११ र १३ का भवन निर्माण भइरहेको पनि आफ्नो प्रस्तुतिका क्रममा वाचन गर्नु भएको थियो । त्यस बाहेक सङ्घीय र प्रदेश सरकारसँगको सहकार्यमा नगरपालिका भित्रका विभिन्न वडाहरूमा सडक निर्माणको कामले तीव्रता पाई रहेको पनि श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसै गरी आफ्नो प्रस्तुतिमा प्रमुख श्रेष्ठले सदरमुकाममा अवस्थित मन्थली नगर अस्पताललाई १५ शय्याको अस्पतालका रूपमा सञ्चालन गरी इमरजेन्सी सहित अस्पतालबाट २४सै घण्टा चिकित्सक सहित विभिन्न परीक्षण तथा उपचार सेवा प्रवाह भइरहेको जानकारी गराउनु भयो । त्यसैगरि नगरपालिकाकै समन्वय र अगुवाइमा विपन्न प्रकृतिका बिरामी तथा गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल आउन जान र अवस्थाका बिरामीलाई काठमाडौँ रिफर गर्नुपर्दा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइँदै आएको जानकारी पनि गराउनु भयो । त्यसैगरि नगरका २४ वटै स्वास्थ्य संस्थामा नेपाल सरकारको मापदण्ड अनुसार निःशुल्क उपचार सेवा प्रवाह भइरहेको पनि आफ्नो प्रस्तुतिका क्रममा नगर प्रमुखले बताउनु भयो ।
अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह भए सँगै बिरामीको चाप बढ्दै जाँदा मन्थली अस्पताललाई १५ बेडबाट बढाएर ५० बेडको प्रादेशिक अस्पतालको लागि स्तरोन्नति गर्न प्रदेश सरकार सँग समन्वय भइरहेको जानकारी पनि प्रमुखको प्रस्तुतिमा उल्लेख गरिएको छ ।
सो क्रममा नगर उप प्रमुख ईश्वरी बस्नेतले पनि नगरको तर्फ बाट भए गरेको काम र चालु आर्थिक वर्षमा न्यायिक समितिले गरेको काम आदीका बारेमा पनि आफ्नो प्रस्तुति मार्फत बताउनु भएको थियो ।
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँले सहभागी सबै जनालाई स्वागत गर्नु हुँदै संवृद्ध मन्थली नगरको परिकल्पनालाई साकार पार्ने अभियानमा १४ नगर सभा सार्थक हुने विश्वास व्यक्त गर्दे त्यसका लागि सबै पक्षलाई सहयोग गर्न पनि आग्रह गर्नु भयो । उक्त सभाको मन्थली नगरप्रमुख लव श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।
\











यो बारेमा तपाईको प्रतिकृया