रामेछाप १८ फागुन । रामेछाप र दोलखा जिल्ला समेतको ब्यवसायीक कृषि र कृषकहरुको क्षमता विकास गर्दे आएको कृषि ज्ञान केन्द्र रामेछापले ‘राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार–२०७९’ बाट रामेछाप र दोलखाका गरि छ जना अगुवा कृषकहरुलाई एक समारोहका वीच सम्मानित गरेको छ । उसले विहिबार कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा रामेछाप र दोलखा जिल्लाका ३–३ जना अगुवा कृषकहरुलाई सम्मान गरेको हो ।
कृषि पेशालाईनै व्यावसायिक र दीर्घकालीन पेशाका रूपमा अपनाएउँदै आएका कृषकहरु मध्ये कृषि विभागले तयार गरेको मापदण्डका आधारमा छनौटमा परेका कृषकहरुलाई कार्यालयले प्रति किसान नगद १० हजार सहित दोसल्ला र प्रशंसा पत्रद्धारा सम्मान गरेको हो । सम्मानित सबै कृषकहरुलाई बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठ र जिल्ला समन्वय समितिकी रामेछापकी प्रमुख चिना खड्का (कार्की)ले संयुक्त रुपमा उक्त पुरस्कार उपलब्ध गराउनु भएको थियो ।
पुरस्कृत हुनेहरुमा रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारका साङ्गे लामा, दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं ७ का कवीन्द्र कुमार मोक्तान र मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका शिव शरण बोहरा रहनु भएको छ । त्यसैगरि दोलखाको जिरी नपा वडा नं ७ का किरण बहादुर खड्का, शैलुङ गाउँपालिका ३ का नारायण श्रेष्ठ र कालिन्चोक गाउँपालिका वडा नं ६ का बलबहादुर थामी रहनु भएको छ ।
पुरस्कृत हुनेमा खड्का ब्यवसायीक किवी खेती, श्रेष्ठ तरकारी खेती र थामीले ब्यवसायीक रुपमा बाख्रा पालन गर्दै आए बापत उक्त पुरस्कारबाट सम्मानित भएका ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङ्गले जानकारी गराउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी माननिय आनन्द कुमार श्रेष्ठले ब्यबसायीक कृषिको संरक्षण र सम्बद्धन गरि कृषकहरुलाई कृषि पेसामा सक्रिय भएर लाग्न हौसला मिलोस भन्नका लागि सरकारले कृषकहरुलाई पुरस्कृत गरेको बताउनु भयो । युवाहरुलाई कृषि पेशामा लाग्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले सरकारले हरेक बर्ष गर्दै आएको पुरस्कार वितरणको दायरालाई ठुलो र फराकिलो बनाउनु पर्ने धारणा राख्नुु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिकि प्रमुख चिना खड्काले कृषि ज्ञान केन्द्रले सुक्ष्म मुल्याँकनमा आधारमा वितरण गरेको यो पुरस्कारले विभिन्न ब्यवसायमा संलग्न हुँदै आएका र ब्यवसायमा संलग्न हुन चाहने कृषकहरुलाई उत्साहित बनाएको बताउनु भयो । नेपाल सरकारले जिल्लाका कृषकहरुका लागि ल्याएको उक्त पुरस्कार किसानको लागि उत्कृष्ठ पुरस्कार भएको भन्दै यसको दायरा बढाउन आवश्यक रहेको बताउनु भयो । कृषि ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङ्को अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यो वर्ष उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार लिन ईच्छुकहरुको संख्या उल्लेख्य रहेको भए पनि मापदण्ड र बजेटको पावन्दीका कारण सिमित ब्यक्तिलाई मात्र पुरस्कृत गर्न सकिएको कार्यालयले जनाएको छ ।

यो बारेमा तपाईको प्रतिकृया