मन्थली ,१० असार । सदरमुकाम मन्थली बजारमा रहेर सिलाई कटाई तथा विभिन्न ब्यवसाय गर्दै आएका २० जना महिलाहरुले १५ दिन अघि सुरु गरेको एड्भान्स लेडिज फेसन डिजाइन, कटिङ्ग तथा सिलाई तालिम आइतवार सम्पन्न भएको छ ।

मन्थली नगरपालिकाको उपमेयर सँग महिला सीप विकास तथा उद्यमशीलता कार्यक्रम अन्तर्गतको कार्यक्रम मार्फत नेपाल कपडा तथा सिलाई ब्यवसायी संघले उक्त तालिम दिएको हो ।
टेलर ब्यवसाय मार्फत आय आर्जन गर्दै आएका महिलाहरुलाई थप दक्ष र अनुभवी वनाउने र उनीहरुको आय आर्जन थप बृद्धि गराउने मुख्य उदेश्यले संघले यस्तो तालिम दिएको ब्यवसायी संघका अध्यक्ष ज्ञान बहादुर सुन्दासले बताउनुभयो ।
कार्यक्रमको समापनका अवसरमा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले एक यस्ता खालका तालिमले महिला हरुको सीप र क्षमताको विकास हुने भएकोले उहाहरुका लागि यो कार्यक्रममा सहयोग गरेको बताउनुभयो । उहाले नगर क्षेत्र भित्रका महिलाहरुको सीप र क्षमता विकासका लागि मन्थली नगर सदैव सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।
कार्यक्रमका अवसरमा रामेछाप उद्योग वाणिज्य संघका सचिव यज्ञ सुवेदीले यस्ता खालका कार्यक्रममा आयोजकले आफ्नो संस्थासँग पनि समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले रामेछाप उद्योग वाणिज्य संघ यस खालको गतिविधिलाई साथ दिन तयार रहेको पनि बताउनुभयो ।

सो अवसरमा प्रशिक्षक ईन्जु थापा घलेले मन्थलीमा यस प्रकारको तालिम अत्यावश्यक रहेको र तालिम पछि अधिंकासं महिलाहरु यो पेशालाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न सक्ने हुनुभएको बताउनुभयो ।
आफुले यस अघि सामान्य ढंगबाट लेडिज कपडाहरू सिलाई गर्ने गरेको भएपनि तालिम पश्चात लेडिज फेसनका सबै खाले कपडा सिलाउन जान्ने भएको तालिमकी प्रशिक्षार्थी कल्पना केसी,वोहोराले बताउनुभयो ।
संस्थाका अध्यक्ष ज्ञान बहादुर सुन्दासको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडैल,नेपाल पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरे लगाएतका बक्ताहरुले पनि कार्यक्रम प्रभावकारी भएको भन्दै तालिममा सिकेको सीपलाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया