रामेछाप– नागबेली कन्स्ट्रक्सनले मन्थली नगरपालिकाको वडा नं ८ र वडा नं ११ को सिमाना भएर बग्ने बफरखोलामा बाढीले बगाएको संरचना आफ्नो कम्पनीले नबनाएको बताएको छ । प्रेस विज्ञप्ति जारी गर्दै आइतबार बिहान बफरखोलामा आएको बाढीले हयूम पाईप र कजवे बगाएको तर उक्त बगाएको संरचना आफ्नो कम्पनीले नबनाएको बताएको हो ।
कम्पनीका संचालक विरबहादुर कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्माण कम्पनी र स्थानीय पूर्वाधार विकास कार्यक्रम मकवानपुर हेटौडाको सम्झौता बमोजिम तोकिएको स्थान र परिमाण अनुसार ढलान कार्य तथा तार जाली लगाउने र अपस्ट्रिममा प्लम वाल निर्माण कार्यको कम्पनीले ठेक्का लिएको हो । तर उक्त बफर खोलामा राखिएको र हाल अविरल वर्षाको कारण क्षति भएको तथा बगाएको हयूम पाइप र कजवे यस निर्माण कम्पनीले निर्माण नगरी आर्थिक वर्ष २०८०/०८१ मै मन्थली नगरपालिका द्वारा निर्माण सम्पन्न गरिएको संरचना हो ।”
कम्पनीले बफरखोलाले सडक बगाउँदा मन्थली नाटिला गेलु सडक अबरुद्ध शीर्षकमा प्रकाशित समाचार प्रति असहमती जनाउँदै नागबेली कन्स्ट्रक्सन र कार्यालय बिच द्विपक्षीय सम्झौता भई मन्थली गेलु फुलासी दोरम्बा टोकरपुर सडक निर्माण कार्य संचालन गरिएको ब्यहोरा साँचो भएको तर समाचारमा उल्लेख गरिए अनुसार नागबेली कन्स्ट्रक्सनले स्थानीयको सहमति बिना बफरखोला मिचेर स्थानीय तहसँग कुनै समन्वय नगरी स्थानीयको माग प्रकृतिको सामान्य नियमको समेत बेवास्ता गरिएको भनिएको व्याहोरा गलत भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
कम्पनीले नगरेको काम र त्यसबाट सिर्जित समस्यालाई एकतर्फी रूपमा स्थलगत अनुगमन र सम्बन्धित निर्माण व्यवसायीसँग कुनै जानकारी समेत नलिई निर्माण व्यवसायीलाई हतोत्साहित र बदनाम गर्ने कार्य प्रति घोर आपत्ति रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
अविरल वर्षाका कारण आइतबार बिहान बफरखोलामा आएको बाढीले हयूम पाइप र कजवे बगाएको थियो । उक्त समाचार नेपाल अभियान डटकममा पनि प्रकाशित भएको थियो । नेपाल अभियानमा प्रकाशित समाचारको विषयलाई लिएर निर्माण व्यवसायी प्रेस विज्ञप्ति सहित नेपाल अभियानकै कार्यालयमा आएका थिए ।












यो बारेमा तपाईको प्रतिकृया