रामेछाप २३ असोज । जिल्लाको पुरानो सहकारी मन्थली साकोसले आफ्नो कार्यक्षेत्रको ३३ ठाउँमा साधारण सभा सम्पन्न गरेको छ । साबिकका विभिन्न गाउँपालिकाबाट अभियानको आरम्भ गरेको उसले मङ्गलवार रामेछाप बजारमा रामेछाप नगरपालिकाका नगर प्रमुख लव श्री न्यौपानेलाई प्रमुख अतिथिको रूपमा सहभागी गराएर सभा गरेको हो ।
नगर प्रमुख न्यौपानेले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष गोविन्द घिमिरेले गर्नु भएको थियो । सो क्रममा प्रमुख अतिथि न्यौपानेले जिल्लाको सहकारी आन्दोलनमा मन्थली बचतले पुर्याएको योगदानको प्रशंसा गर्नु हुँदै नगर भित्र रहेका सबै सहकारीहरूलाई विधि र प्रविधिका आधारमा रहेर नगरको विकासमा सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले नगर र नागरिकको संवृद्धि सँग जोडिएकोले सहकारीको विकासका लागी नगरपालिका पनि सकेको सहयोग गर्न तयार रहेको बताउनु भयो ।

सञ्चालक समितिको बैठकको निर्णयका आधारमा २० असोजबाट साधारण सभाको यात्रा सुरु गरेको मन्थली साकोसले २७ असोजमा मन्थलीमा पुगेर आफ्नो २६ औ साधारण सभालाई पुनः औपचारिकता दिँदै आफ्ना ज्येष्ठ र उत्कृष्ट सदस्य हरूलाई सम्मान सहित पुरस्कार प्रदान गर्ने कार्यक्रम पनि तय गरेको छ। साधारण सभाको प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समितिका प्रमुख चिना खड्कालाई आमन्त्रण गर्ने निणर् भएको संस्थाका सचिव हिमाल ढुङ्गेलले जानकारी दिनु भयो ।
मङ्गलवार सम्ममा मन्थली,रामेछाप,लिखु र खाँडादेवी गाउँपालिका समेतमा गरी ३३ वटा साधारण सभा सम्पन्न भइसकेका छन् । साबिकका गाविसहरूलाई कल्षटरको आधारमा विभाजन गरेको समितिले साधारण सभाका लागि अध्यक्ष गोविन्द घिमिरे सचिव हिमाल ढुङ्गेल र कोषाध्यक्ष टीका भट्टको नेतृत्वमा तीन वटा टोली खटाएको र निर्धारित मितिका आधारमा मङ्गलवार सम्ममा ३३ ठाउँमा साधारण सभा सम्पन्न भएको संस्थाका व्यवस्थापक भेष बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
गत असार मसान्त सम्ममा कुल सदस्य सङ्ख्या १५ हजार ८ सय २९ पुगेको उक्त साकोशले गत आव २०।७९। ८०मा खुद मुनाफा ५८ लाख ८ हजार ८ सय २५ कमाउन सफल भएको छ । त्यसैगरि संस्था सँग शेयर पुँजी ९ करोड ५० लाख १९ हजार ९ सय,बचत सङ्कलन ९१ करोड ७३ लाख ३९ हजार १सय ४७ रुपैयाँ रहेको छ भने कुल सम्पत्ति १ अर्ब १४ करोड ८८ लाख १७ हजार ३ सय ४४ रुपैयाँ रहेको पनि साकोसका कोषाध्यक्ष टीका भट्टको प्रतिवेदनमा उल्लेख गरिएको छ ।











यो बारेमा तपाईको प्रतिकृया