रामेछाप ३ जेठ । जिल्ला प्रशासन कार्यालय रामेछापले ई–पासपोर्ट सेवा बन्द गरेको छ । उसले विहिबार सूचना प्रकाशन गरी अनिश्चित समय सम्मका लागि ई – पासपोर्ट सेवा सम्बन्धी सबै काम बन्द भएको जानकारी गराएको हो ।
बुधवार बिहान परेको चट्याङले जिल्ला प्रशासन कार्यालय रामेछापका कम्प्युटर र इन्टरनेटका उपकरणमा क्षति पुगेका कारण बुधवार देखिनै सेवा प्रवाहमा प्रभावित भएको थियो । कार्यालयले इन्टरनेट, टेलिफोन, राउटर लगायतका उपकरण मर्मत गरेर सामान्य सेवा बुधवार अपराह्नदेखि सञ्चालनमा ल्याएको भए पनि ई–पासपोर्ट सेवा भने उपकारणमा देखिएको समस्या सँगै सुचारु हुने अवस्था नभएपछि अनिश्चित कालका लागि सेवा बन्द भएको जानकारी गराइएको छ । सूचनामा उक्त सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पुगेको असुविधा प्रति भने कार्यालय क्षमा प्रार्थी रहेको ब्यहोरा पनि उल्लेख गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार राहदानी सिफारिस सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको छ । ‘हामीले डिभाइस झिकेर राहदानी विभागमा पठाएका छौँ,’ घिमिरेले भने, ’मर्मतको काम सकिएर आएपछि मात्र सेवा सञ्चालनमा आउँछ ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने क्यामेरालगायतका उपकरण र सिसी क्यामेरासमेत चट्याङले क्षति गरेको छ । एक सेट उपकरण सुरक्षित रहेकाले राष्ट्रिय परिचयपत्र र नागरिकता प्रमाणपत्रको सेवा भने सञ्चालनमा रहेको उनले बताए ।

यो बारेमा तपाईको प्रतिकृया