मन्थली,१३ साउन । शनिवार मन्थलीमा सम्पन्न शान्तिदीप युवा क्लबको आठौँ अधिवेशनले सुरेश उदासको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । अधिवेशनले उदास सहित सबै पदाधिकारी तथा सदस्यलाई निर्विरोध चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा क्रमशः श्यामकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, राजु थापामगर र सम्शेर थापालाई निर्वाचित गरेको छ । त्यसै गरी सदस्यहरूमा पुष्पा श्रेष्ठ, सरिता चौलागाई कल्पना आले मगर, रत्न श्रेष्ठ, सनम थापामगर,पदम कार्की (शिव), प्रमेश ढुंगेल र पर्वत विक लगाएतका रहेका छन् ।
क्लबका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ढाकलवहादुर थापा, रमेश उदास लगायतका वक्ताहरूले क्लबले विगतमा समाजमा गरेको योगदानको चर्चा गर्नु भएको थियो । सो अवसरमा शुभकामना दिने सबैले अबका दिनमा क्लबलाई थप सशक्त बनाएर लैजानका लागि पनि नयाँ नेतृत्वलाई आग्रह गर्नु भएको थियो ।
शान्तिदीप युवा क्लबले विगतमा मन्थली बजारको फोहोर मैलाको व्यवस्थापन, हरियाली क्षेत्र निर्माण , विभिन्न विषयका सडक नाटक, खेलकुद लगायतका समाज विकासका दर्जनौँ उल्लेखनिय काम गर्दै आइरहेको छ ।
अधिवेशनले क्लबको आर्थिक तथा सांगठानिक प्रतिवेदन समेत सर्व सम्मत रूपमा पारित गरेको नव निर्वाचित अध्यक्ष सुरेश उदाशले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया