रामेछाप १६ साउन । रामेछाप विमानस्थलबाट काठमाडौँका लागि नियमित उडान गर्ने निर्णय गरेर उडान तालिका समेत सार्वजनिक गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त निर्णयलाई खोस्टो बनाई दिएको छ । उसले प्रजिअ र जन प्रतिनिधि सहितको रोहबरमा सर्व पक्षीय बैठक समेत राखेर गएको जेठको तेस्रो हप्ता देखि साप्ताहिक रूपमा नियमित उडान गर्ने निर्णय गरेको भए पनि त्यसको दुई महिना सम्म पनि उक्त निर्णयको बेवास्ता गर्दे निर्णयलाईमै खोस्टो बनाई दिएको हो ।
लामो समय देखि काठमाडौँ मन्थली रुटमा जहाज सञ्चालनका लागि स्थानीय स्तरबाट माग हुँदै आएको र सोही मागका आधारमा सङ्घीय सांसद पूर्ण बहादुर तामाङ र मन्थली नगर प्रमुख लव श्रेष्ठ लगायतका जन प्रतिनिधिहरू समेतले पहल गरेका थिए । सोही आधारमा प्राधिकरणले जेठ महिनाको तेस्रो हप्ताबाट जहाज उडाउने निर्णय सहितको कार्य तालिका सार्वजनिक गरेको थियो । तर त्यसको २ महिना बिती सक्दा पनि उडान भर्ने कुनै छाँटकाँट नदेखिनु जिल्लावासीहरूका लागि दुःखद कुरा भएको सरोकारवालाहरूको भनाई रहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणमा सहमति भए अनुसार नियमित उडान तालिका अनुमोदन र भाडा समेत निर्धारण भइसक्दा समेत एयरलाइन्स कम्पनीले अझै नियमित उडान गर्न तर्फ कुनै चासो नदेखाउनु दुःखद कुरा भएको उडान अभियानका अभियन्ता टीका भट्ट बताउनु हुन्छ ।
उक्त अभियानका लागि नागरिक उड्डयन प्राधिकरण उड्डयन सेवा निर्देशनालयका उपमहा निर्देशक प्रेमनाथ ठाकुरको संयोजकत्वमा गत जेठ ३ गते बसेको बैठकले निजी क्षेत्रका तारा, सीता र समिट एयरले हप्तामा कम्तीमा एउटा उडान गर्ने गरी उडान तालिका बनाएर प्राधिकरणमा पेस गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार उडानका लागि तारा, सीता र समिट एयरले तालिका पेस गरेको र जुन १८ तारिखदेखि उडान भर्ने गरी तालिका अनुमोदन भए पनि एयरलाइन्स कम्पनीहरूले उडान तालिका अनुसार उडान नगरेको रामेछाप नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
कार्य तालिका सहित उडानका लागि एकतर्फी ३ हजार ५०० भाडा दर निर्धारण गरी जुन १८ तारिखदेखि उडान गर्ने गरी तालिका अनुमोदन गरी कार्यान्वयनमा ल्याउने सहमति पनि भएको थियो । तर अहिलेसम्म उडान हुन नसक्नु अत्यन्त दुःखद कुरा हो । यसरी निर्णय कार्यान्वयन हुन नसक्नु भनेको नागरिक उड्डयन प्राधिकरणको कमजोरी र ए अरलाईन्स कम्पनी हरुको दादागिरी भएको अभियन्ता भट्टको भनाई रहेको छ ।
रामेछाप विमानस्थल प्रयोग गरी सोलुखुम्बुको लुकलाका लागि यात्रु ओसारपसार गर्दै आएका तीन वटा वायु सेवा कम्पनीलाई काठमाडौँका लागि समेत यात्रुवाहक उडानका लागि रामेछापवासीले आग्रह गर्दै आएको पनि लामो समय बिती सकेको छ् । सिजनमा सोलुका लागि रामेछापबाट दैनिक करिब ६० को हाराहारीमा उडान हुने गरेको भए पनि मन्थली काठमाडौँका लागि कुनै उडान नहुँदा रामेछापवासी कठिसडक यात्रा गर्न बाध्य छन् । त्यसको सबैभन्दा बढी असर सुत्केरी,ईमरजेन्सि विरामी र जेष्ठ नागरिकहरुलाई पर्ने गरेको छ । विमान कम्पनीले मन्थली लुकलाका लागि दैनिक ६० भन्दा बढी उडान हुँदा काठमाडौँका लागि एउटा उडान पनि नराख्दा वायुसेवा कम्पनीसँग जिल्लावासी रुष्ट बनेका छन् ।
मन्थली विमानस्थलमा रात्रिकालीन विमान पार्किङ राखेर लुकलाका लागि उडान भर्दे आएका कम्पनी हरु सँगै राजनीतिक दल र सांसदहरूले समेत पटक पटक हप्तामा एउटा उडान काठमाडौँका लागि राख्न आग्रह गर्दै आएको आधारमा निर्णय भएको भए पनि त्यसले पूर्णता पाउन सकेको छैन ।
आफ्नो पहलमा भएको निर्णय अहिले सम्म कार्यान्वयन नभएको कुराले आफूलाई दुःखित बनाएको सङ्घीय सांसद पूर्ण बहादुर तामाङले बताउनु भयो । उहाँले भन्नु भयो – विमान कम्पनीहरू समेतको रोहवरमा भएको निर्णय कार्यान्वयनमा नआउनुको पछाडिका बारेमा आफूले नागरिक उड्डयन प्राधिकरण सँगै सम्पर्क गरी पुनः निर्णय कार्यान्वयनका लागि पहल गर्ने छु ।
२०३५ सालदेखि काठमाडौँ–रामेछाप उडान हुँदै आएकोमा झन्डै १० वर्षदेखि रामेछाप काठमाडौँ हवाई सेवा पूर्ण रूपमा बन्द छ । रामेछाप विमानस्थलमा रात्रिकालीन पार्किङ गरेका जहाजले बिहानैदेखि मन्थली बाट सोलुको लुक्ला मा यात्रु लैजाने र ल्याउने गरेको भए पनि उक्त मौसम सकिए सँगै सरकारले करोडौँको लागतमा निमार्ण गरेको उक्त विमानस्थल पूर्ण रूपमा बन्द रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया