रामेछाप २० भदौ । रामेछाप नगरपालिका वडा नं ८ भँगेरीमा बसोबास गर्दै आएका नेवार समुदायले हरेक वर्ष देखाउँदै आएको लाखे नाच आज प्रदर्शन गरिएको छ । स्थानीय नेवार समुदायले संस्कृतिको जगेर्ना स्वरूप परापूर्व काल देखि देखाउँदै गरेको लाखे नाच भँगेरी लाखे नाच सांस्कृतिक समूहको अगुवाइमा प्रदर्शन गरिएको हो ।
कृष्ण अष्टमीका दिन भँगेरी कृष्ण मन्दिरबाट आरम्भ भएको उक्त नाच धारा पानी शिव मन्दिर र झगरे चउर सम्म पुगेर प्रदर्शन भई सकेको र दिनभर रामेछाप बजार,निसान भगवती मन्दिर माथिल्लो बजार र हिलेपानीको पाले बन हुँदै रातिको १२ बजे भँगेरी कृष्ण मन्दिरमा पुगेर श्रीकृष्णजीको जन्म सँगै लाखेको वध गरेपछि कार्यक्रमको समापन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जनाएको छ ।
विशेष गरी स्थानीय नेवार समुदायका मृत पितृहरूको स्मरणमा र नेवार समुदायको संस्कृतिको जगेर्ना स्वरूप हरेक वर्ष प्रदर्शन गरिँदै आएको लाखे नाच२०७६ सालमा कोरोना भाइरसको कारणले रोकिएको भए पनि यस वर्ष लाखे नाच तिन दिन विशेष कार्यक्रम सहित देखाइएको भँगेरी लाखे नाच सांस्कृतिक समूहका अगुवा गौतम कुमार श्रेष्ठले जानकारी दिनु भयो । नेवारी समुदायका महिला र पुरुषहरूको मात्र प्रस्तुति रहेको उक्त नाचमा गाईजात्रे व्यङ्ग्य, धार्मिक तथा सामाजिक संस्कृति र भेसभुसा सहितको उत्कृष्ट प्रस्तुति रहेको छ । उक्त लाखे नाच भदौ २१ गते विधिवत् रूपमा कृष्ण रथारोहण गरी पूर्ण रूपमा समापन गरिने परम्परा र कार्यक्रम तय भएको पनि आयोजकले पक्षले बताएको छ ।
हरेक वर्षको भाद्र शुक्ल पूर्णिमा अर्थात् गाईजात्राको दिन देखि सुरु गरिने उक्त नाच श्रीकृष्ण जन्माष्टमीको रात समापन गर्ने प्रचलन रहेको छ । लाखे नाच रामेछापको भँगेरी सँगै मन्थली ,चिसापानी र ठोसे बजारका नेवार समुदायले पनि मनाई रहेका र सबै ठाउँमा कृष्ण जन्माष्टमी आजकै रात समापन गर्ने कार्यक्रम रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया