रामेछाप २७ भदौ । संविधान दिवस २०८० रामेछापमा विभिन्न कार्यक्रम सहित मनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा मङ्गलवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्व पक्षीय समितिले आगामी असोज २,३ र ४ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यतासाथ संविधान दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले दिवसका अवसरमा सबै सार्वजनिक महत्वका स्थानहरू, सरकारी कार्यालयहरू, सङ्घ संस्था र चोकहरूमा दीप प्रज्वलन गर्ने, भदौ २९ र ३० गते बिहान र बलुकाको समयमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी र सुरक्षा निकायका बिचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले दिवसकै अवसर पारेर सफल एवं आनन्दमय जीवन जिउन सहयोग पुग्नुका साथै सकारात्मक विचार सम्बन्धी तालीम भदौ २९ गते दिउँसो ३ बजेबाट मन्थलीको ॐ शान्ति चोक स्थित ॐ शान्ति भवनमा सञ्चालन गरिने कार्यक्रम पनि तय गरेको छ ।
त्यसैगरि असोज २ गते बिहान ७ बजे देवकोटा चोकमा रक्तदान कार्यक्रम, असोज ३ गते बिहान ७ बजे मन्थली माविबाट प्रभात फेरी कार्यक्रम मार्फत मन्थली बजार परिक्रमा गरी बसपार्क ट्राफिक बिट हुँदै तीनलाल स्मृति पार्कमा पुगेर कार्यक्रम औपचारिक रूपमा समापन गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरि असोज ४ गते बिहान ७ बजे मन्थली बजार तथा विभिन्न कार्यालय र चोकहरूमा सरसफाइ गर्ने, असोज २, ३ र ४ गते तीन दिन धार्मिक, सांस्कृतिक तथा पुराना सम्पदाहरुको सरसफाइ गर्ने पनि बैठकले गरेको छ । त्यसैगरि जिल्ला स्थित विभिन्न सञ्चार माध्यम हरुले संविधानको महत्वका विषयमा विभिन्न सन्देश तथा कार्यक्रमहरू प्रसारण तथा प्रकाशन गरेर दिवसलाई सार्थक र पूर्ण बनाउने समेत बैठकले निर्णय गरेको कार्यालयका नासु लक्ष्मण भुजेलले जानकारी गराउनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया