रामेछाप ४ असोज । आगामी असोज ८ र ९ गते राजधानी काठमाडौँमा हुन लागेको नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा अध्यक्ष पदका कैलाश प्रसाद ढुङ्गेल अन्य सम्भावित प्रतिस्पर्धी भन्दा निकै अगाडि रहेका छन् । पार्टीमा गरेको निरन्तर योगदान र अनुभव र कार्यकर्ता बिचको जान पहिचानका आधारमा पनि ढुङ्गेल आफ्ना प्रतिस्पर्धी भन्दा अग्र मोर्चामा रहनु भएको हो ।
पर्टिले अधिवेशनको मिति तोके देखिनै आफूलाई अध्यक्ष पदमा दाबी गर्नु भएका ढुङ्गेलको सम्भावना पछिल्लो समयमा अरू बढेर गएको कार्यकर्ताहरूको दाबी रहेको छ । प्रदेश प्रतिनिधिका लागि खाँडादेवी गाउँपालिकाबाट सर्व सम्मत भएर आउनु भएका कैलाश ढुङ्गेल हाल एमाले केन्द्रीय सदस्यसमेत रहनुभएको छ । उहाँले २०३८ सालबाट कम्युनिस्ट पार्टीमा आबद्ध भएर सक्रिय पार्टी काम सुरु गर्नुभएको हो ।
त्यसबाट निरन्तर पार्टीको साङ्गठनिक अभियानमा जोडिँदै आउनु भएका ढुङ्गेलले व्यवस्था परिवर्तनको लागि पञ्चायती शासन विरुद्धको आन्दोलनमा सरिक भएबापत पञ्चायत कालमा पटक पटक गरी लामो समय जेल जीवन पनि बिताउनु भएको थियो । उहाँले जिल्लाको मात्र नभएर बागमती प्रदेश भित्र पनि पुराना र कामयाबी नेताको रूपमा आफ्नो विशिष्ट पहिचान बनाउनु भएको छ । उहाँ २०४८ बाट लगातार तीन पटक पार्टी सचिव र २०६६ मा जिल्ला पार्टी अध्यक्ष बन्नुभएको थियो । २०५४ सालमा जिल्ला विकास समिति रामेछापको सभापति, २०७४ मा बागमती प्रदेशसभा सदस्यसमेत हुनुभएका ढुङ्गेलले बागमती प्रदेशको पहिलो आर्थिक मामिला मन्त्रीको अनुभव सम्हाल्ने अवसर पनि प्राप्त गर्नु भयो । मन्त्री हुँदा बखत प्रदेश,पालिका र जिल्ला स्तरमा पनि विकासे मन्त्रीका रूपमा ढुङ्गेलले आफ्नो राम्रो छवि बनाउनु भएको थियो ।
ढुङ्गेल सँगै वाग्मती प्रदेश सभा प्रतिनिधिमा एमालेका अर्का केन्द्रीय सदस्य मकवानपुरका कृष्णप्रसाद दाहाल पनि प्रदेश अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नु हुने चर्चा रहेको छ । त्यस्तै पार्टीको वाग्मती प्रदेश कमिटीका वर्तमान अध्यक्ष केशव पाण्डे र बाग्मती प्रदेशका पूर्व सभामुख सानु श्रेष्ठले पनि एमाले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने निश्चित भएको एमाले श्रोतले बताएको छ । कामको अनुभव,कार्य क्षमता,योग्यता र दक्षताका आधारमा पनि प्रतिस्पर्धी चार जनाको दौडमा रामेछापका एमाले नेता कैलाश ढुंगेलनै अग्र मोर्चामा देखिएकाले पनि उहाँको जित प्राय सुनिश्चित जस्तै रहेको कार्यकर्ताहरूको दाबी रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया