रामेछाप ७ असोज । रामेछापको दुर्गम गाउँपालिका उमा कुण्डको न्यायिक समितिको काममा द्रुतता देखिएको छ । उसले गत आर्थिक वर्षमा गरेको कामको मूल्याङ्कनका आधारमा एक वर्षमा गरेको काम सन्तोष जनक भएको दाबी गरेको हो । पालिकाको न्यायिक समितिले एक वर्षमा कार्यालयमा दर्ता भएको सबै मुद्दा टुङ्गो लगाएको आधारमा काम सन्तोषजनक भएको बताएको हो ।
एक वर्षमा समितिमा दर्ता भएका सबै खाले मुद्दालाई आफूहरूले छलफल र सहमतिका आधारमा टुङ्ग्याएको न्यायी समितिकी संयोजक एवं उप प्रमुख सावित्री सुनुवारले बताउनु भएको छ । गत आवमा समितिमा दर्ता भएका कुल १ सय १४ वटै मुद्दा दर्ता भएका र ती सबै मुद्दा छलफलबाट टुङ्ग्याएको जानकारी पनि उहाँले दिनुभयो ।
सेवाग्राहीहरूलाई सहज होस भन्नका लागि हरेक महिनाको चार दिन साप्ताहिक आइतबार पारेर न्यायिक समितिको बैठक बस्ने गरेको र सोही छलफलको आधारमा निवेदनको टुङ्गो सकभर सोहिदिन टुङ्ग्याउने र नभए पुन दिन तोकेर बोलाउने गरिएको पनि समितिकी संयोजक सावित्री सुनुवारले बताउनुभयो । समितिको बैठकमा संयोजकसहित तीन जना सदस्य रहने व्यवस्थाअनुसार छलफल हुने र बैठकमार्फत वडाबाट ‘निर्भर’ भएर आएका र अन्य निवेदनको गाम्र्भियताका आधारमा छलफल गरी सहमतिका अधा रमा मुद्दाको किनारा लगाइएको पनि सुनुवारले बताउनु भयो ।
न्यायिक समितिमा परेका आवेदनलाई मेलमिलाप प्रक्रिया मार्फत प्रभावकारी बनाउन पालिकाका सात वटै वडाको मेलमिलाप संयोजकहरूलाई पुनर्ताजगि तथा अभिमुखीकरण गरिँदै आएकोले पनि कार्यक्रम लाई प्रभावकारी बनाउन सहयोग पुगेको पनि उहाँले बताउनुभयो । त्यस बाहेक मेलमिलापकर्ता सूचीकृत गराउने, वडा वडामा गएर समितिको पुनर्गठन गर्ने काम भने सम्पन्न भइसकेको छ । यो अभियानलाई सहजीकरण गर्नका लागि पालिकामा ६२ जना मेलमिलापकर्ता कार्यरत रहेका र उहाँहरूका कारण पनि काममा सहजता आएको समितिले जनाएको छ ।
यो सँगै चालु आर्थिक वर्षमा न्यायिक समितिमा १४ वटा मात्र मुद्दा दर्ता भएका र तिनीहरूको पनि क्रमशः सम्बोधन भइरहेको छ । जस मध्ये १२ वटा मुद्दालाई मेल मिलाप र २ वटा मुद्दा भने छलफलको माध्यमबाट टुङ्ग्याई सकिएको पनि समितिकी संयोजक सुनुवारले जानकारी दिनु भयो । यसरी मुद्दा प्रक्रियामा आएको द्रुतता सँगै सर्व साधारण तथा पीडित पक्षले न्यायको अनुभूति गरेको अनुभव आफूले गरेको पनि सुनुवारले जानकारी गराउनु भयो ।











यो बारेमा तपाईको प्रतिकृया