रामेछाप १४ पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले शुक्रवार सदरमुकाम मन्थलीमा सञ्चालन गरेको उत्पादित बाली,पशु बस्तुको बजारीकरण सम्बन्धी कार्यक्रममा जन प्रतिनिधिहरूले वे –वास्ता गरेका छन् । परियोजनाले आफ्नो कार्यक्षेत्र भित्र विभिन्न शीर्षकमा गरेको काम र उत्पादित पशुजन्य र कृषिजन्य वस्तुहरूलाई कसरी बजारी करण गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्ला समन्वय समितिको सभा हलमा आयोजना गरेको उक्त कार्यक्रममा सङ्घीय र प्रदेश सांसद र अधिकांश पालिकाका प्रमुख हरुले वे वास्ता गरेका हुन् ।
आफ्नो काममा उत्साह पूर्वक तरिकाले लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमका प्रमुख अतिथिको रूपमा सङ्घीय सांसद पूर्ण बहादुर तामाङ सँग समय लिएरै शुक्रवारका लागि कार्यक्रम तय गरेको थियो । त्यसै गरी जिल्लाका सबै प्रदेश सांसदहरू,जिल्ला समन्वय प्रमुख र ८ वटै पालीकाका अध्यक्ष हरू र प्रमुख जिल्ला अधिकारी समेतलाई पूर्व तयारीका साथ कार्यक्रमका लागि मिति तय गरेको थियो ।
जन प्रतिनिधिहरूबाट प्राप्त स्वीकृतिका आधारमा परियोजनाले जिल्लाका अन्य सरोकारवालाहरू समेतलाई आमन्त्रण गरी जिल्लाका अगुवा कृषकहरूको अनुभव,अभाव र प्रभाव सहितको प्रस्तुति सुनाउने र हलबाट प्राप्त सुझावलाई जन प्रतिनिधिहरू सहितको तर्क र अनुभवका आधारमा उत्पादित बस्तुलाई बजारीकरण गर्नका लागि साझा अवधारणा बनाएर अघि बढ्ने गरी कार्यक्रम परियोजनाले तय गरेको थियो ।

तर परियोजनाको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख र उप प्रमुख, मन्थली र रामेछाप नगरपालिकाका प्रमुख र खाँडादेवी गाउँपालिकाका प्रमुख मात्र सहभागी हुनु भयो । उहाँहरू मध्य पनि समन्वय प्रमुख बाहेक तीन वटै पालिकाका प्रमुखले कार्यक्रम अवधिभर समय दिनु भएन । खाँडादेवी गाउँपालिकाका प्रमुख ज्ञान कुमार श्रेष्ठ कार्यक्रम समापन हुनै लाग्दा कार्यक्रम स्थलमा आउनु भएको थियो भने मन्थली प्रमुख लव श्रेष्ठ कार्यक्रम सुरु हुनासाथ र रामेछापका नगर प्रमुख लव श्री न्यौपाने कार्यक्रमको बिचमा कार्यब्यस्तताको कारण देखाउँदै बाहिरिनु भयो । त्यसैगरि कार्यक्रममा प्रजिअ अनिता निरौलाको पनि सहभागिता देखिएन ।
आयोजक पक्षले राम्रो समन्वय र तयारी गरेको भए पनि अधिकार प्राप्त अधिकांश जन प्रतिनिधिहरू कार्यक्रममा सहभागी नहुँदा कार्यक्रम सोचे जति रूपमा प्रभावकारी हुन नसकेको भए पनि परियोजनाले जिल्लामा उत्कृष्ट काम गरेकोमा भने कार्यक्रमको अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले कार्यालय प्रमुख थिर लाल गैर र उहाँको टिमलाई भने धन्यवाद दिनुभयो ।
जिल्लाको संवृद्धि सँग जोडिएको कार्यक्रममा अगुवा कृषकहरूको अनुभव र सरोकारवालाहरूको सुझावका आधारमा साझा धारणा तय गर्नु पर्ने थियो । जुन माननीय ज्युहरू र सरकार प्रमुखहरूको अनुपस्थितिका कारण सम्भव नभएको गुनासो पनि प्रमुख खड्काले सो क्रममा गर्नु भएको थियो ।
जन प्रतिनिधि र प्रमुख जिल्ला अधिकारी समेतले कार्यक्रममा समय नदिए पछि आफूहरूलाई निराशा बनाएको गुनासो सहभागी कृषक अगुवाहरूले गरेका छन् । परियोजनाले कृषकहरूमा उत्साह जगाउँदै उत्पादित कृषि तथा पशु उपजहरूको बजारीकरणकारलागि साझा अवधारणा तय गर्न बोलाएको सरोकारवाला हरुको महत्पूर्ण बैठकका लागि समय दिएर जनप्रतिनिधि अनुपस्थिति हुनु भनेको आम कृषकहरू प्रतिको अपमान भएको गुनासो जन्मभूमि कृषि फर्मका सञ्चालक लक्ष्मण केसीले गर्नु भयो ।
बजारीकरण सम्बन्धी महत्त्वपूर्ण कार्यक्रम भएकोले सबै जन प्रतिनीदहरू र जिम्मेवार सरोकारवालाहरूको रोहबरमा बन्ने साझा अबधारण आफूहरूका लागि मार्ग निर्देशन सहित थप व्यवसायी बन्न सहयोग पुग्ने अपेक्षामा तुसारापात भएको आलु जोन कार्यक्रमका सह सचिव समेत रहेका आलु कृषक हिरा श्रेष्ठले बताउनु भयो । गत वर्ष मात्र आफूले ४०० टन आलु जिल्ला बाहिर लगेर विक्री गरेको भए पनि बजार नपाएका कारण आफूहरूमा काम गर्नका लागि जाँगर मर्दे गएको अनुभव पनि सुनाउनु भयो ।
कृषकलाई तालिम, प्रविधि, सर्वसुलभ कर्जा र सम्मान, दिगो कृषि विकासको लागि सदुपयोग गरौँ, कृषि अनुदान भन्ने मुला नारा सहित तय गरेको कार्यक्रममा आयोजनाका कार्यालय प्रमुख थिर लाल गैह्रेले सहभागीहरूलाई स्वागत गर्दे कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा आफ्नो प्रस्तुति मार्फत जन्मभूमिका सञ्चालक लक्ष्मण केसीले व्यवसायी कृषि उत्पादन संग्ौ त्यसको वैज्ञानिक व्यवस्थापन र बजारीकरण विना आर्थिक संवृद्धि असम्भव हुने भएकोले सरकारले पनि सोही अनुसारको नीति निर्माण मार्फत युवाहरूलाई समाहित गर्ने वातावरण तय गर्न आग्रह गर्नु भयो ।
केसीले नेपालको कृषि क्षेत्र र उत्पादन को वर्तमान अवस्था र बजारीकरण सँगै कृषिमा अन्तर्राष्ट्रिय लगानी र बजारीकरणको अवस्थाका बारेमा पनि आफ्नो प्रस्तुति मार्फत जानकारी गराउनु भएको थियो ।
कार्यक्रमका अवसरमा सामाजिक अभियन्ता विपिन भट्टराई ले आफ्नो प्रस्तुति मार्फत नेपालमा कृषि क्षेत्रबाटै आर्थिक संवृद्धि खोज्न सकिने भन्दै त्यसकालागि युवामुखी नीति आवश्यकता रहेको बताउनु भयो । सो क्रममा वहाले जिल्लाको कृषि उत्पादनलाई सबै सरकारहरूले साझा धारणा मार्फत सहरी क्षेत्रमा मात्र बजारीकरणको सपना नदेखी उत्पादित बस्तुहरूलाई तराईका बजार सम्म पनि जोड्न सकिने भन्दै बजारीकरणका विभिन्न अवधारणा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका युवा कृषक एवं आलु जोनका सहसचिव हिरा श्रेष्ठ र जुनार जोन कार्यक्रमका अध्यक्ष युगराज पाख्रिन अगुवा कृषक पदम बहादुर तामाङ युवा कृषक अनार बाजे लगायतले जिल्लामा उत्पादित कृषि बस्तु र बजारीकरणको समस्या र त्यसका लागि सरकारले निभाउनु पर्ने विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।
उहाँहरूले उत्पादित कृषि बस्तुहरू बाँदर लगायतका जङ्गली जनावरबाट बचाउन नसकिएकाले जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्न सरकारले कुनै पनि चासो नदिएको र बैङ्कहरू किसानमुखी नभएको र स्थानीय सरकार पनि कृषि क्षेत्रको विकास र कृषकहरूको मनोवल बढाउने खालको विश्वासिलो कार्यक्रम ल्याउन नसकेको गुनासो गर्नु भएको थियो ।
कार्यक्रमको आरम्भ बोल्दै रामेछाप नगर पालिकाका प्रमुख लव श्री न्यौपानेले व्यवसायी कृषिको विकासबाट मुलुकमा आर्थिक संवृद्धि सम्भव भएको भन्दै त्यसका लागि आफूसँग र भिजन र मिसन दुवै भएको भए पनि बजेटको अभावमा यस क्षेत्रमा सोचे जति काम गर्न नसकिएको बताउनु भयो । उहाँले भन्नु भयो – यदि मेरो नगर सँग पर्याप्त बजेट हुने थियो भने जुनार सुन्तला र गेडा गुडिको व्यवसायी उत्पादनले मात्र सिङ्गो जिल्ला बासिलाई पाल्न सक्ने हैसियत रामेछाप नगरसंग रहेको दावि गर्नु भयो ।
कार्यक्रम समापन हुनै लाग्दा आइपुग्नु भएका खाँडादेवी गाउँपालिकाका प्रमुख ज्ञान कुमार श्रेष्ठले कृषि मार्फत आर्थिक संवृद्धि खोज्न सकिने भए पनि सरकारले कृषिमा अनुदानको कार्यक्रम ल्याएर किसानलाई भिखारी र पर निर्भर बनाएको भन्दै यसलाई तत्काल रोक्नु पर्ने बताउनु भयो । त्यसका लागि सरकार आफैले किसानले उत्पादन गरेको कृषि बस्तुको उचित मूल्यमा खरिद गरिदिने नीति तय गर्न सके मात्र युवाहरूको कृषि क्षेत्रमा आकर्षण बढ्ने धारणा व्यक्त गर्नु भयो ।
सो अवसरमा परियोजनामा रहेर उत्कृष्ट काम गरेको भन्दै परियोजनामा कार्यरत कृषि प्राविधिकहरू बल बहादुर थापा मगर र श्याम बहादुर तामाङलाई कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुखको हातबाट सम्मान पत्र सहित सम्मान गरिएको थियो ।











यो बारेमा तपाईको प्रतिकृया