रामेछाप । जिल्लामा जुनार उत्पादनको उर्वर भूमिको रूपमा आफनौ बेग्लै पहिचान बनाएको रामेछाप नगरपालिका ६ ओख्रेनीका कृषकहरूलाई अहिले आफ्नो व्यवसायलाई संस्थागत गर्न वगैचाका लागि आवश्यक सिँचाई र बजारीकरणका लागि समस्या भएको छ । वर्षाेँ देखी व्यवसायी र गुणस्तरीय जुनार र सुन्तलाको उत्पादनमा जिल्लामानै नाम कमाएको ओख्रनीमा यतिबेला रहरलाग्दो जुनार फलेको भए पनि वगैचामा र बजार सम्म लैजाँदा पनि न्यून मूल्यमा जुनार बिक्री हुँदा बजारीकरण सँगै उनीहरूका लागि आवश्यक सिँचाई को समेत समस्या भएको हो ।
केही वर्ष देखि कृषिको आधुनिकीकरण र व्यवसायीकरण मार्फत किसानहरूको आय स्तरमा सुधार ल्याउने उद्देश्यले सरकारले जिल्लामा सञ्चालन गरेको कृषि आधुनिकीकरण परियोजना रामेछापले ओख्रेनीमा जुनार जोन कार्यक्रम मार्फत जुनार बिरुवा र वगैचाको संरक्षण सँगै त्यसको प्रवर्द्धनका लागि आर्थिक तथा प्राविधिक सहयोग पनि गर्दे आएको छ ।
केही वर्ष देखि बजारीकरणको समस्या सँगै अमिलो जातको फलमा लाग्ने रोगका कारण जुनार वगैचा पूर्ण रूपमा प्रभावित भएपछि निराश बनेका जुनार कृषकहरू प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको गाउँमा प्रवेश सँगै , उनीहरूमा उत्साह पनि थपिएको छ । जसका कारण ओख्रेनीको जुनार कृषकहरूले पुनःब्यवसायीक सोच सहित आफ्नो पेसालाई निरन्तरता दिन थालेको स्थानीय कृषक हिमाल तामाङले बताउनु भयो । परियोजनाको प्रवेश पछि गरिएको प्रोटीनवेटको प्रयोगले जुनारमा लाग्ने ९७ प्रतिशत रोग किरा नियन्त्रणमा आइसकेको छ ।
जसका कारण तामाङले यस वर्ष मात्र आफ्नो वगैचामा ५ सय जुनारको बिरुवा थप गर्नु भएको छ । उचित समयमा प्राविधिक सल्लाह र विषादीको प्रयोग सँगै यो वर्ष ओखेनीमा जुनार उत्पादन बढेको पनि कृषकहरूले बताएका छन् ।
युवाहरू रोजगारीका लागि विदेश जान थालेपछि ब्यवसयीक जुनार खेतीका लागि गाउँमा काम गर्ने मानिसको समेत अभाव हुँ न थालेको छ । गाउँबाट युवा पुस्ताको पलायनले गाउँ सुनसान बनेपछि जुनार र अन्य वाली उत्पादनका लागि पनि अब्बल ठानिँदै आएको खेतीयोग्य जमिन लामो समय खण्डहरमा परिणत हुँदै गइरहेको पनि युवा कृषक तामाङले जानकारी दिनुभयो । मेरो बगैँचामा भने बर्सादमा आएको असिनाले जुनारको उत्पादनमा गिरावट आएको भए पनि यस वर्ष आफ्ना लागि बजारको भने कुनै समस्या नरहेको पनि तामाङले बताउनु भयो ।
लोभलाग्दो अवस्थाका गाउँका खेत तथा बारीहरू अहिले विस्तार बिस्तारै खण्डहर बन्दै गए सँगै युवाहरूको पलायन ताले सबैजसो घरमा उमेर पाकेका बूढाबूढी मात्र व्यवसायमा सक्रिय रहको अर्का कृषक शेर बहादुर तामाङले बताउनु भयो । जसले गर्दा हाम्रा लागि जनशक्ति सँगै जुनारको लागि सिँचाई पनि चुनौतीको रूपमा देखा परेको शेर बहादुरको भनाई रहेको छ ।
ओख्रेनीका धेरै घर परिवारको मुख्य आम्दानीको स्रोत भनेकै जुनार हो उनीहरूको व्यवसायलाई विस्तार गर्दे उत्पादन र गुणस्तरियतामा पनि ध्यान दिनका लागि कृषि आधुनिकीकरण परियोजना रामेछापले वगैचा विस्तर सुधार र सिँचाई पोखरीका लागि ५० प्रतिशत अनुदान दिएका कारण पनि आफुहरुकालागि थप सहयोग पुगेको जिल्ला जुनार सहकारी संघका अध्यक्ष समेत रहेका पद्म तामाङले बताउनु भयो । उहाँका अनुसार अन्य खेतीमा भन्दा जुनार खेतीमा राम्रो आम्दानी हुने भएकाले पनि स्थानीय कृषकहरू जुनार खेतीमा थप आकर्षित भएको पनि उहाँको भनाई रहेको छ ।
पैसाको अभावमा व्यवसायी जुनार खेती गर्न चाहने हरूका लागि रकमको अभाव हुन नदिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, रामेछापका प्रमुख थिर लाल गैरेले बताउनु भयो । परियोजनाले तयार गरेको मापदण्डका आधारमा कार्य योजना सहित आउने कृषकहरूका लागि ५० प्रतिशत अनुदानमा रकम उपलब्ध गराउन परियोजना तयार रहेको पनि प्रमुख गैरेले दाबी गर्नु भयो ।
परियोजना कार्यान्वयन एकाइ, रामेछापले ओख्रेनीलाई जुनार जोन क्षेत्र घोषणा गरी विगत ३ वर्ष देखि उनीहरूको समेत पचास प्रतिशत लागतमा जुनार वगैचाको व्यवस्थापन र सुधार बिरुवा उत्पादनकालागि सहकारी मार्फत हाई टेक नर्सरी र उत्पादित जुनारको बेमौसमी ब्यवसयाका लागि कुल बुट निर्माणको काममा पनि सहयोग गर्दे आएको छ । उसले देखाएको चासो र लगानी सँगै ओख्रेनीका धेरै बगैचाहरुमा जुनारको उत्पादनमा वृद्धि हुनुका साथै कृषकहरू उत्साहित पनि भएको ओख्रेनी गाई टारका जुनार व्यवसायी कृषक धन बहादुर तामाङले बताउनु भयो ।
जुनार बगैँचामा सरकारी लगानी र त्यसको अवस्थाका बारेमा स्थलगत अनुगमन गराएर परिणामको बारेमा जानकारी लिने उद्देश्यले आधुनिकीकरण परियोजनाले मङ्गलवार जिल्लाका आम सञ्चार माध्यमहरू केही सरोकारवाला समेतलाई राखेर जुनार कृषकहरू सँग भेटघाट र वगैचाको स्थलगत अनुगमन गराएको छ । जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्कीको नेतृत्वमा गएको पत्रकार हरूको स्थलगत रिपोटीङ टोलीले परियोजना लागु हुनु अघिको र हालको जुनार बगैँचा र कृषकहरूको अवस्थाका बारेमा पनि जानकारी लिने प्रयास गरेको थियो । जुनार बिक्रीबाट मात्र ओख्रनीका कृषकहरूले वार्षिक करोडौँ रुपैयाँको आम्दानी गर्दै आएको भए पनि यसको व्यवसायी विस्तारका लागि सरकारले कृषकहरू सँगको समन्वयका आधारमा थप लगानी गर्नु पर्ने जिल्ला समन्वय रामेछापकी प्रमुख चीना खड्काले बताउनु भयो ।











यो बारेमा तपाईको प्रतिकृया