
मन्थली,९ पुष । रामेछाप जिल्लाका विभिन्न विद्यालयहरुमा सञ्चालित “एक विद्यालय एक नर्स”कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
बागमती सरकारले आफ्नो प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरुमा लागु गरेको यो कार्यक्रम रामेछाप जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने आफुहरु जस्ता किशोरी छात्राहरुलाई बरदान सावित भएको मन्थली मावि मन्थलीकी कक्षा–९ कि छात्रा सृष्टि तामाङले बताइन् ।
सृष्टिको मात्र हैन श्री शारदा संस्कृत माध्यामिक विद्यालयमा अध्ययनरत सोनिका कार्की र रोजिना शाहिको पनि आफुहरु महिनावारी भएको वेलामा विद्यालय नर्सले दिने सेनिटरी प्याड र त्यस वेला दुख्ने गरेको तल्लोपेटको उपचारका कारण आफुहरुलाई सो अवधिमा पनि विद्यालय जान कुनै अप्ठेरो नभएको बताउछन् । उनीहरु यस अघि महिनावारी भएको वेला विद्यालय जाने गरेका थिएनन् ।
किशोरी छात्राहरु महिनावारी हुँदा बिद्यालय नआउने गरेको, विद्यालयमा महिनावारी भयो भने विचैमा कक्षा छाडेर घर जाने गरेका थिए । तर यो कार्यक्रम लागुभएपछि आफ्नो विद्यालयमा त्यस अबधिमा हुने समस्या समाधानका लागि विद्यालय नर्सले राम्रो भुमिका खेलिदिने भएपछि किशोरीहरुको छात्राहरुको कक्षामा नियमित उपस्थिति दर पनि बढेका शारदा संस्कृत माध्यामिक विद्यालय वावियाखर्क रामेछाप नगरपालिका –८ का प्रधानाध्यापक नारायण प्रसाद घिमिरेले बताउनुभयो ।
यो कार्यक्रम लागु भएपछि विद्यार्थीहरुको स्वास्थ्य उपचारमा सहज हुनुका साथै विद्यार्थीहरुको उपस्थिति दर पनि बढेको प्रति विद्यालयका शिक्षकहरु खुसी छन् । दुई हजार भन्दा बढी विद्यार्थीहरु रहेको मन्थली माध्यामिक विद्यालयमा १ जना नर्सले भ्याउन मुस्किल भएकोले दुई जना सम्म भैदिए अझ सहज हुने सो विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहाल बताउनुहुन्छ ।
बिद्यालय र विद्यार्थीको सरसफाई एबं विद्यालयमा जंक फुडको अन्त्य लगाएतका बारेमा विद्यालय नर्सले विद्यार्थी र अभिभावकहरु लाई जानकारी गराउने, सामान्य चोटपटक तथा अन्य आकस्मीक विरामी हूँदा समेत उपचार गर्न सहज हुने भएकोले बिद्यालयहरुमा यो कार्यक्रम प्रभावकारी भएको श्री रुद्राक्षेश्वर मावि मुगिटारका प्रअ हर्क बहादुर भुजेलले बताउनुभयो ।
उहाँले आफ्नो विद्यालयमा विद्यार्थी उपचार गर्ने बेड नहुँदा सेवा प्रवाहमा कठीनाइ भएपनि कार्यक्रमले आफ्नो विद्यालयका छात्र छात्राहरुलाई असाध्यै ठुलो टेवा पुगेको बताउनुभयो ।
प्रदेश सरकारले जारी गरेको बिद्यालय स्वास्थ्य तथा नर्सिंङ सेवा निर्देशिका –२०७६ अनुसार जिल्लाका दश जोड दुई चलेका विद्यालयहरुमा यो सेवा उपलब्ध गराउने प्रावधान छ तर दश जोड दुई चलेका रामेछापका सबै बिद्यालयहरुमा यो सेवा उपलब्ध भैसकेको छैन । केही विद्यालयहरुमा कार्यक्रम लागु भएपनि स्टाफ नर्सहरु को दरवन्दि खालीहँुदा कार्यक्रम लागु भएपनि सेवा प्रवाहमा कठिनाई भैरहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
रामेछाप जिल्लामा भएका ९३ वटा माध्यामिक तहका सामुदायिक विद्यालयहरु मध्ये ४६ वटा विद्यालयमहरुमा मात्र यो कार्यक्रम लागु भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो–“ यो कार्यक्रमले विद्यालय सेवा क्षेत्र भित्रका अभिभावकहरुलाई पनि आबस्यक स्वास्थ्योपचारका लागि निक्कै सहज भएको छ ।”
उपचारका लागि र आकस्मिक रुपमा चोटपटक लाग्दा गाँउबाट टाढा रहेको स्वास्थ्य चौकी सम्म पुग्नु पर्ने समस्या समेत टरेर नजिकैको माध्यामिक विद्यालयमा जाँदा पनि सामान्य उपचार सेवा प्राप्त हुने भएकोले आफु जस्ता अभिभावकहरुका लागि पनि यो कार्यक्रम निक्कै उपयोगी भएको मन्थली नगरपालिका वडा नं –७ भटौलीका कृष्ण कार्की बताउनुहुन्छ ।
यो कार्यक्रमबाट छात्र भन्दा छात्रा बढि लाभान्वित हुने गरेका छन् , विभिन्न समस्या लिएर छात्रको तुलनामा छात्राहरु बढि आउने गरेको त्यस मध्येमा पनि महिनावारी भएका किशोरी छात्राहरु बढि उपचार तथा परामर्स सेवा लिन आउने गरेको मन्थली माध्यामिक विद्यालय मन्थलीकी स्टाफ नर्स मन्जु अधिकारीले बताउनुभयो ।
प्रदेश सरकार मार्फत लागु भएको यो कार्यक्रमले नगरको वालमैत्री नगर घोषणाका लागि आबश्यक स्वास्थ्य तथा सरसफाइका लागि समेत निक्कै उपयोगि भएको र आफु कार्यरत विद्यालयमा पनि छात्रको तुलनामा सेवा लिन छात्रानै बढिा आउने गरेको शारदा सस्कृत मावि वाबियाखर्क रामेछापकी स्टाफ नर्स श्रेस्ता दाहालले बताउनुभयो ।
रामेछाप र मन्थली नगरपालिकाले २०८१ चैत्र मसान्त सम्ममा वालवमैत्री नगर घोषणा गर्ने तयारी गरिरहेको वर्तमान अबस्थामा यो कार्यक्रमले पनि त्यसका लागि आबश्यक सूचकहरु पुरा गर्न निक्कै सहयोग गरिरहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले बताउनुभयो ।
रामेछाप जिलाको रामेछाप र मन्थली नगरपालिकाको सात ÷ सात वटा सामुदायिक विद्यालयहरुमा,लिखु तामाकोशी गाँउपालिकाको छ वटा विद्यालयहरुमा,खाँडादेवी गाँउपालिकाको आठ वटा बिद्यालयहरुमा, सुनापति गाँउपालकाको सात वटा, गोकुलगंगाको पाँच वटा दोरम्बा शैलुङको चार वटा उमाकुण्डको तीन वटा र सुनापति गाँउपालिकाको सात वटा गरी कुल ४६ वटा विद्यालहरुमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भैरहेको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक दिनेश नेपालीले बताउनुभयो ।
जिल्लामा ५३ वटा विद्यालयहरुमा दश जोड दुई कक्षा सञ्चालन भएपनि सबै सामुदायिक विद्यालयहरुमा यो कार्यक्रम लागु भएको छैन ।
अहिले रामेछाप जिल्लाका अधिकांस सामुदायिक विद्यालयहरुप्रति अभिभावकहरुको आकर्षण छैन ।
गुणस्तरीय पठन पाठको अभावमा आफुहरुको आकर्षण सामुदायिक विद्यालयमा नभएको मन्थली नगरपालिका वडा नं –१ का स्थानीय अभिभावक नारायण बस्नेत बताउनुहुन्छ ।
त्यसो त विद्यार्थीहरु आकर्षण गर्न प्रदेश सरकारले विद्यालयमा दिवा खाजाको कार्यक्रम पनि ल्याएको छ । तर कक्षा ५ सम्म मात्र प्रति विद्यार्थी रु १५ का दरले खाजाको रकम निकासा हुने भएपछि उक्त रकमले गुणस्तरीय खाजा को ब्यवस्था गर्न समस्या भैरहेको नागकन्या मावि मन्थली की प्रधानाध्यापक सुमित्रा (खड्का) कार्की बताउनुहुन्छ ।
गत वर्ष कक्षा छ सम्म दिवा खाजाको ब्यवस्था गरिएको भएपनि यस वर्ष देखि कक्षा अपग्रेड गरी कक्षा सात सम्म गर्नुपर्ने भएपनि कक्षा घटाएर कक्षा पाँच सम्ममा झारेको र खाजाका लागि १५ रुपैया रकम असाध्यै थोरै भएको प्रति अभिभावकहरुको गुनासो रहेको छ ।
तर सबै माध्यामिक तहका सामुदायिक विद्यालयहरुमा एक विद्यालय एक नर्स कार्यक्रम र आधारभूत तह (कक्षा १ –८) सम्म विद्यार्थीहरुलाई दिवा खाजाको कार्यक्रम सबै विद्यालयहरुमा लैजान सके अभिभावकहरुको सामुदायिक विद्यालय प्रतिको आकर्षण बृद्धि भई विद्यार्थी संख्या समेत बढाउन सकिने मन्थली माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक गुन्ज बहादुर श्रेष्ठ बताउनुहुन्छ ।
यो बारेमा तपाईको प्रतिकृया