मन्थली, ९ जेठ । चालु आर्थिक वर्षको दश महिनामा रामेछाप जिल्लाबाट ६ हजार ३ सय ४९ जना युवा जनशक्ति बाहिरिएका छन् ।
नेपालमा रोजगारीका अवसरहरू नभएपछि उनीहरू रोजगारीका लागि विदेश पलायन भएका हुन् ।

मन्थली नगरपालिका लगायत विभिन्न गाउँपालिका द्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम का अनुसार –चालु आर्थिक वर्ष २०७९÷०८० को साउन महिना देखि वैशाख महिनासम्म रामेछापबाट ६ हजार ३४९ जना रोजगारीका लागि विदेश गएका हुन् ।
‘दश महिनाको तथ्याङ्कलाई हेर्दा रोजगारी गर्न रामेछापबाट झन्डै साढे ६ हजार मानिस विदेश गएको देखिन्छ ।
रोजगारीका लागि मलेसिया,यु.ए.ई, कतार,बहराइन, कुवेत, साउदी अरब र ओमान लगायतका देशमा गएको पाइएको छ ।
सामी कार्यक्रम अधिकृत दीपक केसी का अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को साउन महिना देखि वैशाख महिनासम्म जिल्ला प्रशासन कार्यालय रामेछापबाट आठ हजार ८ सय ५९ जनाले राहदानी लिएका छन् ।
यो अवधिमा रामेछापका दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाबाट एक हजार २५० जना महिला र पाँच हजार ९९ जना पुरुष वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका अधिकृत दीपक केसीले कार्यक्रमका अवसरमा जानकारी दिनुभयो ।
मन्थली नगरपालिकाले मङ्गलवार मन्थलीमा आयोजना गरेको एक कार्यक्रममा सो कुराको सार्वजनिक गरिएको थियो ।
मन्थली नगरपालिकाले वैदेशिक रोजगारीमा जाने आफ्ना नागरिकको वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मन्थली नगर प्रमुख लव श्रेष्ठले ‘यो कार्यक्रम मार्फत वैदेशिक रोजगारीमा जाने नागरिकलाई आवश्यक सीप प्रदान गर्ने, विदेश गएकाको परिवारलाई पठाएको पैसालाई उत्पादनको क्षेत्रमा परिचालन गर्न प्रेरित गर्ने, वैदेशिक रोजगारीमा रहँदा समस्यामा परेका र उनका परिवारलाई आवश्यक परामर्श तथा सहयोग जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको उहाँले बताउनुभयो । रामेछापको मन्थली नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकामा अहिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।












यो बारेमा तपाईको प्रतिकृया