
रामेछाप, २५ चैत । रामेछापको रामेछाप नगरपालिका–५ हिमगंगाकी ७२ बर्षिया बृद्धा भक्तमाया सुनुवारले बल्ल नागरिकता पाएकी छिन् ।
शनिवार अपाङ्गता भएका एकजना र ७२ बर्षिया बृद्धालाई प्रमुख जिल्ला अधिकारीले घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको नेतृत्वमा गएको टोलीले फरक क्षमता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारलाई नागरिकता प्रदान गरेको थियो ।
७२ वर्षकी सुनुवारको यस अघि पनि नागरिकता बनाउन प्रयास गरिएपनि अन्य मानिससँग नजिक नपर्ने साथै मोबाइल र क्यामेरा देख्ने वित्तिकै भाग्ने भएकाले फोटो खिच्न नसक्दा नागरिकता बनाउन नसकिएको स्थानीय वडा सदस्य रोजकुमार श्रेष्ठले बताउनुभयो ।

नागरिकता नबन्दा उनीहरु सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवा सुविधाबाट बञ्चित भएका थिए । प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयको टोली घरमै आएर नागरिकता दिएपछि आफुलाई असाध्यै खुसी लागेको भक्त मायाकी आफन्त मैया सुनुवारले बताउनुभयो ।
यातायातको सहज पहँुच नहुँदा फरक क्षमता भएका व्यक्ति तथा बृद्धालाई जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सम्भव नभएकाले शनिबारको दिन पारी घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनुभयो ।
फरक क्षमता भएका तथा अशक्त व्यक्तिलाई सहज सेवा उपलब्ध गराउँनु राज्यको दायित्व भएकाले जिल्लामा अरु पनि त्यस्ता व्यक्ति भए घरमै पुगेर सेवा दिने प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो । नागरिकता प्राप्त गरेका माझी र सुनुवारको सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै प्रक्रिया अघि बढाउने रामेछाप नगरपालिकाकी उप प्रमुख वाल कुमारी कार्कीले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया