नुवाकोट, ३ जेठ । “घुमफिर वर्ष २०७९÷८० सफल पारौँ” भन्ने मूल नाराका साथ बागमती प्रदेशको पर्यटन क्षेत्रको प्रचारका लागि पत्रकारहरूको भ्रमण आज (बुधवार) देखि सुरु भएको छ ।
पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेशले पत्रकार महासंघ बागमती प्रदेश सँगको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका अवसरमा मकवानपुर जिल्लाको थाहा नगरपालिका स्थित चित्लाङमा पर्यटन प्रवर्द्धनका लागि भए गरेका प्रयासहरूको बारेमा र आगामी दिनमा गर्नु पर्ने कार्यक्रमका बारेमा अन्तरक्रिया गरिएको थियो ।
सो अवसरमा नेपालमै पहिलो पटक बाख्राको दूध बाट चिज उत्पादन चित्लाङमै गरिएको भए पनि यसको थप प्रवर्द्धन गर्न राज्य बाट कुनै सहयोग नभएको चिज उत्पादक अशोक सिं ठकुरी ले गुनासो गर्नुभयो ।
कार्यक्रमका अवसरमा बोल्दै स्थानीय होटेल तथा होमस्टे व्यवसायीहरूले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय समेत निर्माणाधीन रहेको यस ठाउँलाई महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना रहे पनि सरकार मार्फत पर्याप्त सहयोग नहुँदा अहिले सम्म यो ठाउँ ओझेलमा परेको बताएका थिए ।
अन्तरक्रियात्मक कार्यक्रममा मन्त्रालयको र पत्रकारहरूको तर्फबाट सहभागीहरूले यस ठाउँको थप पर्यटन प्रवर्द्धनमा आ आफ्नो क्षेत्र वाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
टोलीमा मन्त्रालयको तर्फबाट अधिकृतहरू, किशोर सापकोटा र रमेश पौडेल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा सहितका पत्रकारहरू गरी २५ जनाको सहभागिता रहेको छ । टोलीले मकवानपुर, नुवाकोट, धादिङ र रसुवा जिल्लाका विभिन्न पर्यटन क्षेत्रको अवलोकन गरी प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया