
रामेछाप,१७ जेठ । जिल्ला समन्वय समिति रामेछापले मङ्गलवार आफ्ना पदाधिकारी र जिल्लाका विभिन्न कार्यालय प्रमुख र तिनका प्रतिनिधिहरू समेतको उपस्थितिमा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार र यसको नियन्त्रणका विषयमा एक दिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले नेपालमा विद्यामान लैङ्गिक हिंसा र व्यवहारिक प्रयोग तथा कानुनी अवस्था र कार्यान्वयनको चरण सम्मका अवस्थाका बारेमा पनि प्रस्तुति गर्नुभएको थियो । सो अवसरमा अन्य सहजकर्ताहरूले पनि कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार बारेमा जानकारी मूलक कक्षा सञ्चालन गरेका थिए ।
कार्यक्रममा समन्वय प्रमुख चिना खड्काले कार्यस्थलमा यौन हिंसा भएमा त्यसको विरुद्धमा उजुरी गर्दा केही हुन्छ कि भनेर सहेर नबस्न सबैलाई आग्रह गर्नुभयो । उहाँले ‘जिल्लाको जुनसुकै कार्यालयमा यौनजन्य दुर्व्यवहार भएको हुन सक्ने र यदि यस्तो भइरहेको छ भने कुनै पनि डर नमानी निर्धक्क सँग आफूलाई जानकारी दिन आग्रह गर्नुभयो ।
केही महिना अगाडी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार आरोप लागेपछि डिभिजन वन कार्यालय रामेछापका तत्कालीन कार्यालय प्रमुख रामशरण गौतमको मन्त्रालयमा सरुवा भएको विषयको पनि सो कार्यक्रम चर्चा गरिएको थियो । गौतमविरुद्ध वन मन्त्रालयमा यौन दुर्व्यवहार गरेको आरोप सहित जिल्ला प्रशासन कार्यालय रामेछाप र वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई बोधार्थ दिएर उजुरी परेको भए पनि रामेछापेलीहरुलाई भने उक्त सूचनाबाट भने अहिले पनि बेखवर बनाएको छ ।
सहभागी सहजकर्ता हरूले लैङ्गिक हिंसा निवारणमा सकारात्मक सोचको भूमिका र कार्यस्थलमा हुने यौन दुर्व्यवहार निवारण सम्बन्धी कानुनी व्यवस्थाका बारेमा सहभागीहरूलाई प्रशिक्षित गरेका थिए ।कार्यक्रमका अवसरमा जिल्ला समन्वय अधिकारी विनीता भट्टराईले कार्यस्थलमा यौन हिंसाका घटना हुने गरेको भन्ने सुनिए पनि यसको अभिलेखीकरण भने कतै नभएको बताउनुभयो । उहाँले कार्यस्थलमा यस्ता घटनाहरू भइरहे पनि विभिन्न कारणले सम्बन्धित निकायमा उजुरी पर्न नसकेको उहाँको भनाइ छ । घर,सार्वजनिक स्थान,विद्यालय,कार्यस्थल र सेवा प्रदायक संस्थाहरूमा हुने यौन हिंसा नियन्त्रणका लागि सबै सरोकार वालाहरुलाई लाग्न पनि आग्रह गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया