१८ भदौ, २०७६
मन्थली- रामेछापको सदरमुकाम मन्थलीमा रहेका हार्डवेयर पसलमा म्याद गुज्रेका सामाग्री भेटिएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको बजार अनुगमन टोलीले मन्थलीको ब्यस्त बजार मानिने देवकोटा चोक नजिक रहेको लक्की हार्डवेयर सप्लार्यस र जिल्ला प्रशासन जाने बाटोमा रहेको वि. एस. हार्डवेयर सप्लार्यसबाट ६२ लिटर म्याद गुज्रेको इनामेल बरामत गरेको छ ।

सेवाग्राहीलाई झुक्याएर विक्री गर्न राखिएकै अवस्थामा लक्की हार्डवेयर सप्लार्यसबाट ३२ लिटर र वि. एस. हार्डवेयर सप्लार्यसबाट ३० लिटर गरी ६२ लिटर म्याद गुज्रेको इनामेल बरामत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका लक्ष्मण भुजेलले जानकारी दिनुभयो । यस अघि पनि पटक पटक अनुगमनका क्रममा सचेत गराउँदा समेत आफूहरुको निर्देशनलाई बेवास्ता गर्दै म्याद गुज्रेका सामाग्री बेचेर उपभोक्ता माथि खेलबाड भइरहेको भुजेलले बताउनुभयो । यस्ता म्याद गुज्रेका सामाग्री विक्री गर्ने हार्डवेयर पसललाई चाँडै कारबाही गरिने पनि उहाँले बताउनुभयो ।
त्यसैगरी अनुगमनको क्रममा मन्थलीको बिचबजारमा रहेको रेजिना भाडा पसलबाट परिमाण कम भएको एक थान पाथी पनि जफत गरिएको उहाँले जानकारी दिनुभयो । बुधबार गरिएको बजार अनुगमनमा ८ ओट हार्डवेयर पसलको अनुगमन गरिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया