मन्थली,२१ असार । मन्थली नगरपालिकाले नगरका पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार तथा मन्थली विमानस्थलको नियमित सञ्चालनको पहलका लागि संघिय राजधानी काठमाडौमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाले संघिय संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रीको प्रमुख अतिथ्यतामा र जिल्लाका पुर्व मन्त्री र वहालवाला सांकसदहरु लगायतका जिल्लाका सरोकारवालाहरु समेतलाई रोहबरमा राखेर पहिलो पटक नगरको पर्यटन विकास र मन्थली विमानस्थलको स्थायित्वका लागि अन्तरक्रियात्मक छलफलको आयोजना गरेको हो ।
मन्थली नगरको उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नगर र जिल्लाको पर्यटन विकासका लागि मन्थली नगरपालिकाले अत्यन्त महत्वका साथ तीनै तहका सरकारका प्रतिनिधि संगै सरोकारवाला समेतलाई सहभागि गराएर गरेको काम फलदायी हुने विश्वास पनि ब्यक्त गर्नुभयो । सो अवसरमा उहाले रामेछाप जिल्ला पर्यटनको वहुतै सम्भावना भएको जिल्ला भएकाले यसको पर्यटकीय पूर्वाधार विकासमा सरोकारका तर्फबाट आवश्यक सहयोग गर्न आफु तयार रहेको वताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले रामेछापको पर्यटन विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै मन्थली नगरपालीका मात्र नभएर सिङ्गो रामेछापको पर्यटन विकासका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पर्नै सबै खालको सहयोग गर्ने विश्वास पनि दिलाए ।
वागमती प्रदेशसभा सदस्य युवराज चौलागाईले एकै पटक सबै सम्भव नहुने भए पनि मन्थली नगरपालिकाले कम्तीमा केन्द्रमा आएर सरोकारवाला हरु विच छलफल गराउनु पनि अत्यन्त राम्रो कुरा भएको बताउनुभयो ।
सांसद चौलागाईले मन्थली नगरले छलफल र प्रचार सुरु गरेकाले आगामी दिनमा समग्र रामेछापकै पर्यटन विकासका लागि सहयोग पुग्ने वताउनुभयो ।
उहाँले बी.पी.कोइरालाको जन्मस्थान सिन्धुलीको दुम्जा र पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापको भँगेरीलाई जोडेर ‘बी.पी.–पुष्पलाल पर्यटन कोरिडोर’ बनाउन सकिने बताउनुभयो । त्यसैगरी १० वर्षे जनयुद्धका चर्चित स्थान दोरम्बा र बेथानलाई जोडेर पनि पर्यटन विकास गर्न सकिने उहाँको भनाइ छ ।
उहाले हामीसँग पनि नेपाली लोकतान्त्रिक आन्दोलनका अगुवाहरू बी.पी. र पुष्पलालको जन्मस्थान नजीकै दुरीमा छन्, बेथान र दोरम्बा जनयुद्धका चर्चित ठाउँहरू पनि छन्, यीनलाई अन्तर जिल्ला र अन्तर पालिकासँग जोडेर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ’ सांसद चौलागाँईले भन्नुभयोे,‘सँगै, हामीले अब तामाकोशी, सुनकोशी र लिखुलाई शैलुङ र ताबेसँग जोडेर हेर्नुपर्छ । साथै, चिसापानी हिले जात्रा नेपालकै प्राचीन र मौलिक जात्रा हामीसँग छ, माझी र हायु समुदायका संस्कृति, सभ्यता र संस्कारलाई पनि पर्यटनसँग जोड्ने गरी योजना बनाएर अगाडी जानुपर्नेछ ।’
प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले पर्यटन विकासका लागि स्थानीय उत्पादनको ब्राण्डिङ गर्नुपर्ने र यसका लागि स्थानीय तहहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । किवी, जुनार लगायतका फलफूलका लागि रामेछाप प्रसिद्ध रहेको भन्दै यस्ता फलफूल प्रशोधन गरेर फरक–फरक उत्पादन दिन सकिने र यसो गर्दा पर्यटनसँगै समृद्धि हासिल हुने उहाको भनाइ छ । सांसद श्रेष्ठले जहाज प्लेन मात्रै सबै कुरा नभएकाले मन्थली विमानस्थल नचल्दा पनि पर्यटक आउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रमका अवसरमा वागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले पर्यटन क्षेत्रलाई सरकारले आर्थिक उपार्जनको महत्वपूर्ण विषयका रुपमा छनौट गरेकोले रामेछापमा पनि यसको संस्थागत विकासका लागि पर्यटन ब्यवसायलाई नै राज्यले महत्व दिनु पर्ने भन्दै त्यसका लागि सवै भन्दा पहिलो प्राथमिकता पूर्वाधार निर्माणलाई दिनु पर्ने बताए । सो क्रममा उहाँले मन्थली सहित समग्र रामेछापको पर्यटन क्षेत्र विकास गर्नका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने धारणा राख्नुभएको थियो ।
उहाँले रामेछापको मन्थली विमानस्थललाई बाह्रै महिना सञ्चालन गर्नका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । हाल पर्यटकको सिजनमा मात्रै मन्थली विमानस्थलबाट लुक्लाको उडान भइरहेको र यसबाट पनि मन्थलीले अपेक्षित लाभ पाउन नसकिरहेको भन्दै उहाँले न्थली विमानस्थलको स्थायित्वका लागि पहल गर्न आफुले कुनै पनि कसुर नराख्ने बताउनुभयो ।
सांसद श्रेष्ठले मन्थलीमा होटेल पूर्वाधारसहित विमानस्थलमा समेत एसीको व्यवस्था भएको जानकारी गराउँदै ‘ मन्थलीमा गर्मीबाट पर्यटक भगाउनुपर्ने अवस्था छैन, मन्थली बजारका होटलमा १ सय ५० बढी एसीसहितका कोठाहरू छन्, विमानस्थलमा पनि एसी राखिएको छ । होटलहरु केही अव्यवस्थित भए पनि पर्यटक राख्नका लागि पनि आवश्यक सुधार गर्न सकिने पनि सांसद श्रेष्ठले बताउनुभयो ।
प्रदेश सभाकी सांसाद माया कार्कीले मन्थलीमा केही पनि छैन भन्ने कुरा गलत भएको बताउँदै स्तरीयतामा केही कमजोरी हुन सक्ने भए पनि होटेल तथा अन्य पूर्वाधारहरू तुलनात्मक रूपमा राम्रो भएको बताउनुभयो ।
पूर्व मन्त्री कमल चौलागाईँले पर्यटन विकासका लागि पर्यटनमैत्री वातावरणको निर्माण र पर्यटकीय गन्तव्यहरूको पहिचान गरी तिनको प्रचार गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहले यसतर्फ ध्यान दिन सके आन्तरिक र बाह्य पर्यटकहरू बढ्न सक्ने पति वताउनुभयो ।
पूर्व मन्त्री श्यामकुमार श्रेष्ठले रामेछाप र मन्थलीमा केही पनि छैन भन्ने गलत धारणा निर्माण गरिएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताउनुभयो । उहाले मन्थलीसहित रामेछाप जिल्लामा नै धेरै कुरा भएको र धेरै सम्भावना पनि भएकाले केही व्यवस्थित हुन नसकेको भए त्यसलाई सुधार गर्दै जान सकिने बताउनुभयो । उहाँले सिन्धुलीको दुम्जा र रामेछापको भँगेरीलाई जोडेर पर्यटन विकास गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।
आफ्नो आगमन सँगै मन्थली नगरपालिकाको स्थाई संचालन र त्यसको विकासका लागि निरन्तर प्रयत्न गर्दै आउनुभएका मन्थली नगरका प्रमुख लव श्रेष्ठले मन्थली विमानस्थललाई नियमित सञ्चालनका लागि मन्त्रिपरिषद् वा सम्बन्धित निकायबाट निर्णय गराउन पहल भइरहेको र यसका लागि सबै पक्ष र राजनीतिक दलका प्रतिनिधिसहित व्यवसायीहरूलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
प्रमुख श्रेष्ठले मन्थली विमानस्थल बाह्रै महिना चल्छ भन्ने ग्यारेन्टी भएको अवस्थामा आन्तरिक लगानी बढाउँदै जिल्ला बाहिरका लगानीकर्तालाई समेत आकर्षण गर्न सकिने भएकाले नगरको पहिलो बटम लाइन नै मन्थली विमानस्थलको स्थायित्व भएको बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले नगरका पर्यटकीय गन्तव्यहरूको पहिचान गरी पूर्वाधारको विकास र तीनको प्रचार प्रसार गर्दै जाने योजना नगरले बनाएको जानकारी पनि वताउनुभयो ।
कार्यक्रमका अवसरमा पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), टानका अध्यक्ष नीलहरि बास्तोला, पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटा, पाटा नेपाल च्याप्टरकी सदस्यसमेत रहेकी पर्यटन व्यवसायी सरिता लामा, नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे, होटल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल र वायुसेवा सञ्चालक सङ्घका कार्यकारी निर्देशक राधाकृष्ण थापा लगायतका ब्यक्तिहरुले मन्थली विमानस्थलको स्थायित्वका लागि पहल गर्न सबै राजनीतिक दल र सरोकारवाललाई आग्रह गर्नुभएको छ । राज्यले पूर्वाधार बनाएपछि निजी क्षेत्रले लगानी गर्ने भएकाले नीजि क्षेत्रलाई लगानीको प्रतिफल प्राप्त हुन्छ भनेर आकर्षित गर्नुपर्ने उहाँहरुको भनाइ छ ।
‘पर्यटन क्षेत्रमा निजी क्षेत्रको मात्रै लगानी छ, मन्थलीमा पनि लगानी गर्न व्यवसायीहरू इच्छुक छन्, तर प्रतिफलको सुनिश्चितता नदेखि लगानी गर्ने कुरा नआउने भएकोले विमानस्थलको स्थाईत्वका लागि मुख्य कुरा भएको कार्यक्रमका सहभागि एबं एमाले मन्थली नगर कमिटिका अध्यक्ष राम बावु घिमिरेले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया