रामेछाप । विद्यालयको जग्गा खरिद तथा छात्रावास स्थापनाको लागि लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती बेसीमा अवस्थित तामाकोसी जनजागृति माविमा लगाइएको श्रीमद् भागवद् महायज्ञ सामाजिक र धार्मिक एकताको प्रतीक बनेको छ ।
लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीका वडाध्यक्ष शिवप्रसाद न्यौपाने सप्ताह व्यवस्थापन समिति मूल समारोह समितिका अध्यक्ष रहेको उक्त सप्ताह महायज्ञमा आयोजक पक्षबाट देखिने व्यवहार र हार्दिकताले त्यहाँको सामाजिक र धार्मिक एकतालाई एकै मालामा गाँस्ने प्रयास गरेको अनुभूति त्यहाँ पुग्ने जो कोहीलाई पनि हुने गरेको छ ।
विद्यालयको भौतिक पूर्वाधार जग्गा खरिद जस्ता कुराहरूलाई आयोजक पक्षले मुख्य प्राथमिकतामा राखेको भए पनि महायज्ञमा स्थानीयहरूको सद्भाव पूर्ण एकता र अतिथिहरूलाई गरिने सत्कार सँगैको ब्यवाहारले भने खिम्तिका बासिन्दाको सानलाई उठाएको अनुभूति आफूलाई भएको मन्थली नगरपालिका वडा नं १ राम प्रसाद देवकोटाले गर्नु भयो ।
छैटौँ दिनका दिन महायज्ञमा पुगेका देवकोटाले आयोजक पक्षको मात्र नभएर स्थानीयहरूको व्यवहार र सहकार्यले भने आफू प्रभावित भएको बताउनु भयो । कार्यक्रममा दलिय र सामाजिक सदुभाव अनि आयोजक र समाजका अन्य पक्ष बिचको हार्दिकताले त्यहाँ पुग्ने जो सुकै पनि लोभ्याउने गरेको अनुभव पनि देवकोटाले सुनाउनु भयो । बजार देखि महायज्ञ हाता भित्र भेटिएका आयोजक र सर्व साधारण मानिसहरूमा पनि सप्ताह प्रतिको एकै प्रकारको हार्दिकता भेटिनुले पनि यस कुरालाई पुष्टि गरेको पनि देवकोटाको अनुभव छ ।
सप्ताह महायज्ञलाई सफल बनाउनका लागि स्थानीय सबै राजनितक दलहरू हरूको अलावा पालिका प्रमुख उप प्रमुख र स्थानीय हरूको समेत उत्तिकै सहयोग रहेको छ । सबै पक्षको उत्तिकै र हार्दिकता पूर्वक सहयोग भएकैले पनि होला सवैमा अपनत्व बोध देखिएको र काम गर्नका लागि पनि सहज वातावरण बनाएको मूल समारोह समितिका अध्यक्ष शिव प्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नु भयो आज छैटौँ दिन सम्मको अवस्थालाई नजर अन्दाज गर्ने हो भने हामी लक्ष्य भन्दा माथि पुग्ने अवस्थामा पुगेका छौ । करिब आज सम्ममा दान बापतको रकम ५० लाख भन्दा बढी उठेको र सम्भावित सहयोगी अतिथिहरूको वचन र अवस्थालाई अनुमान गर्दा महायज्ञको अन्तिम दिन सम्ममा करिब ८० लाख रुपैयाँ उठ्ने अनुमान पनि अध्यक्ष न्यौपानेले गर्नु भयो । जुन रकम हामीले सोचे भन्दा पनि बढी हो ।
पहिलो दिन ४ लाख ५१ हजार आर्थिक सङ्कलन भएर सुरु गरेको सप्ताह महायज्ञको यात्रा , दोस्रो दिन ९ लाख ६५ हजार, तेस्रो दिन ४ लाख ५२ हजार, चौथो दिन ६ लाख ७८ हजार तथा पाँचौँ दिन मङ्गलवार १० लाख ७१ हजार रुपैयाँ हुँदै छैटौँ दिन सम्म आइपुग्दा करिब ५० लाख रुपैयाँ सङ्कलन सङ्कलन भएको पनि न्यौपानेको भनाई रहेको छ ।
कात्तिक ९ गतेसम्म चल्ने महायज्ञमा भोलि लक्षवर्तिका प्रज्वलन सहित जाग्राम कार्यक्रम राखिएको न्यौपानेले बताउनुभयो । त्यस्तै पर्सी पूर्णाहुति होम सहित सप्ताह समापन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक तथा रामेछाप दोलखा लगायतका स्थानीयलाई सहभागी हुन आयोजकले अनुरोध गरेको छ । महायज्ञमा फूलपाती लिएर टीका तथा प्रसाद ग्रहणको लागि सबै पक्षलाई आग्रह गरिएको समितिकी सदस्य समेत रहनु भएकी दीपशिखा दाहालले बताउनु भयो ।
महायज्ञमा भागवत प्रखर कथा वाचीका मञ्जरी गरिमा उपाध्यायको नेतृत्वमा मधुर ध्वनि बाचक पण्डित बबिन न्यौपाने, पण्डित अमृत अधिकारी, विपिन गुरागाईँ समेतको टोलीको आकर्षक र संगितमय कथा वाचनले सहभागी अतिथि र सर्व साधारणलाई समेत निकै आकर्षित गराएको छ । उक्त महायज्ञमा सहभागिता जनाएर कथा श्रवण र प्रसाद ग्रहणका लागि पनि आयोजक पक्षले सबैसँग हार्दिकता पूर्वक आग्रह गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया