रामेछाप । खाँडादेवी गाउँपालीका बाहेक जिल्लाका ७ वटा स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार निर्वाचित पालिका मध्ये ३ वटा पालिकाको प्रमुखमा नेपाली कांग्रेस,२ वटा पालिकाको प्रमुखमा माओवादी केन्द्र र २ वटा पालिकाको प्रमुखमा नेकपा एमालेले विजयी भएको छ । ७ बाहेक बाँकि रहेको खाँडादेवी गाउँपालिकामा मतगणना भैरहेको र उक्त पालिकाको पुरा परिणाम आउन भने अरु एक दिन कुर्नु पर्ने निर्वाचन कार्यालयले जनाएको छ । पछिल्ला परिणाम अनुसार उक्त पालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेको अग्रता रहेको छ ।
जस अनुसार रामेछाप नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख र उप प्रमुख सहित ६ वटा वडा जितेको छ । गोकुलगंगा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडा र लिखु तामकोशि गाउँपालीकाको अध्यक्ष सहित २ वटा वडा जितेको छ । त्यसै गरि नेकपा एमालेले मन्थलीको प्रमुख उप प्रमुख सहित ८ वटा वडा हात पार्न सफल भएको छ ।
त्यस्तै उमाकुण्ड गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष जितेको छ भने उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्दले जितेको छ भने लिखु तामाकोसी गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसले जित्दा उपाध्यक्ष भने नेकपा एमालेले जितेको छ । दोरम्बा शैलुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रले जितेको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसले हात लगाउन सफल भएको छ ।
परिणाम आएका पालिकाहरुको अबस्था तपसिल बमोजिम छ ।
रामेछाप नगरमा नेकाको बर्चस्व
रामेछाप नगरपालिकामा ९ मध्य ७ वडा अध्यक्ष सहित नेपाली काग्रेसले प्रमुख र उप प्रमुखमा विजय हासिल गरेको छ । परिणाम अनुसार नेकाका उमेद्वार लबश्री न्यौपाने एमालेका रोशन पाख्रिन संग ६ हजार ६ सय ३९ मत प्राप्त गरि विजयी भएका छन् । जसमा
पाख्रिनले ५ हजार ९ सय ८६ मत प्राप्त गरे भने उप प्रमुखमा काँग्रेसकै बालाकुमारी कार्की विजयी भईन् । उनले ६ हजार ६ सय ४० मत प्राप्त गर्दा एमालेकी सीता खत्रीले ५हजार ३ सय ४७ मत प्राप्त गरिन् ।
मन्थली नगरपालिकामा एमालेको बर्चस्व
मन्थली नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुबै पदमा जित हात पारेको छ । नेपाली काँग्रेसका उम्मेदवार बिनोद कार्किलाई पराजित गर्दै लब श्रेष्ठ विजयी भए । ।श्रेष्ठले ९ हजार ७१८ मत ल्याउँदा कार्कीले ९ हजार १२२ मत प्राप्त गरे । त्यसैगरि उपप्रमुखमा इश्वरी बस्नेतले नेकाकि उमेद्वार एशोदा श्रेष्ठ लाई पराजित गरिन् । बस्नेत ९ हजार १६१ मत ल्याएर विजयी हुँदा काँग्रेसकी उम्मेदवार श्रेष्ठले ९ हजार ५४ मत मात्र प्राप्त गरिन् ।
लिखुतामाकोशीमा अध्यक्षमा नेका र उपाध्यक्षमा एमालेको जीत
सम्पन्न मतगणना अनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार केशव महत विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार कमल प्रसाद कडेरियालाई पराजित गरेका हुन् । महतले ५ हजार १ सय १२ मत प्राप्त गर्दा कडेरियाले ४ हजार ८ मत प्राप्त गरेका थिए । महतले एक हजार १ सय ४ मतको अन्र्तरले निर्वाचन जितेका छन् । यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपा पाख्रिनले ४ हजार १ सय २६ मत प्राप्त गरि विजयी भएकी छीन् । उनकि प्रतिस्पर्धि सरस्वती गुरुङ खड्काले ३ हजार ९ सय ३३ मत पाइन् ।
उमाकुण्डको अध्यक्षमा एमाले र उपाध्यक्षमा नेका विजयी
उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवार ३ हजार ७२८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितबहादुर कटुवालले २ हजार १७२ मत प्राप्त गरे भने उपाध्यक्षमा नेपाली काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवारले २ हजार ९ सय २२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८३४ मत प्राप्त गर्नुभएको छ ।
गोकुलगंगामा कांग्रेसको जित
दुर्गम गाउँ गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसले पहिलोपटक जित हाँसिल गरेको छ सो गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्काले ६ हजार ९३ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार खड्गबहादुर सुनुवारलाई १ हजार ३ सय ८३ मतान्तरले पराजित गरेका हुन् । सुनुवारले ४ हजार ७ सय १० मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार उषादेवी कार्कीले ५ हजार २ सय ५३ मत ल्याएर उहाँ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राधिका श्रेष्ठलाई ५ सय ६७ मतान्तरले पराजित गरिन् । श्रेष्ठले ४ हजार ६ सय ८६ मत ल्याईन् ।
सुनापति गाउँपालिकामा माओवादी केन्द
सुनापति गाउँपालिकामा माओवादी केन्दले जित हासिल गरेको छ । पालिका अध्यक्षमा नेकपा माओवादीका ठूलोकान्छा तामाङ र उपाध्यक्षमा गिता विष्ट विजयी विजयी भएका छन् । विजयी तामाङले ५३९८ मत प्राप्त गरे भने प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्काले४८५१ मत प्राप्त गरे । तामाङ ५४७ मत बढी ल्याएर विजयी भए । उपाध्यक्षमा गिता विष्ट ५३६० मत ल्याइन् भने निकटतम प्रतिस्पधी कांग्रेसकी उम्मेदवार शान्ति तामाङले ५०६८ मत प्राप्त गरिन् ।
दोरम्बा शैलुङमा गठबन्धन विजयी
दोरम्बा शैलुङ गाउककपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मैनकुमार मोक्तान निर्वाचित भएका छन् । मोक्तान एमालेका टंकप्रसाद चौलागाईंलाई झिनो मतान्तरले पराजित गरी विजयी भए । मतगणनाअनुसार मोक्तानले ६ हजार २ सय ७० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका टंकप्रसाद चौलागाईंले ६ हजार १ सय ५० मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी खमला थापामगर ६ हजार ७ सय ८१ मत प्राप्त गरी विजयी भईन भने उनकि प्रतिस्पर्धी एमालेकी मुना कँडेलले ५ हजार ३ सय १० मत प्राप्त गरिन् । यस पालीकामा माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गरेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया