१ भदौ, २०७६
रामेछाप- नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले अहिलेको सरकारले शिक्षकलाई सर्पको जस्तो व्यवहार गर्न थालेको बताउनुभएको छ । नेपाल शिक्षक महासंघ रामेछापको प्रथम जिल्ला परिषदमा शनिबार बोल्दै अध्यक्ष थापाले मानव जातीले ३ सय ६४ दिनमा सर्पलाई जहाँ भेट्यो त्यहि मार्ने अनि एक दिन नाग पञ्चमीको दिन पुजा गरेर देवता माने जस्तै सरकारले शिक्षकहरुलाई सँधै सर्पको जस्तो व्यवहार देखाएको आरोप लगाउनुभएको हो ।
शिक्षा क्षेत्रमा सुधार ल्याउन शैक्षिक आन्दोलन जरुरी रहेको र शान्तिपूर्ण आन्दोलनको खाँचो रहेकाले कुनै पनि बेला आन्दोलन गर्नु पर्ने भएकाले उक्त आन्दोलनमा सबैको साथ रहनेमा आफू विश्वस्ता रहेको उहाँले बताउनुभयो ।
सरकारले आफूहरुलाई जस्तो दृष्टिले हेरे पनि शिक्षकहरु समाजको ऐना भएकाले देशको सम्पुर्ण क्षेत्रसँग समन्वय गरेर शैक्षिक विकासमा लाग्नु पर्ने बताउनुभयो ।
त्यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश नं ३ का अध्यक्ष निरबहादुर कार्कीले शिक्षकहरु आधारभुत सेवासुविधाबाट नै बञ्चित भएकोप्रति गुनासो गनुभयो । नेपाल शिक्षक संघ प्रदेश नं ३ की महासचिव कमला थापाले शिक्षकहरु स्थानीय, प्रदेश र संघिय सरकारबाट नै पीडित हुने गरेको गुनासो गर्नुभयो ।
त्यस्तै नेपाल शिक्षक महासंघ रामेछापका अध्यक्ष राम बहादुर श्रेष्ठले रामेछापका सबै स्थानीय तहमा शिक्षकहरु विविध कारणले समस्यमा परेको र उनीहरुको समस्यामा नेपाल शिक्षक महासंघले केन्द्र र प्रदेशले भुमिका खेल्नु पर्ने माग गर्नुभयो ।
परिषदले रामेछाप महासंघको आर्थिक र सांगठनिक प्रतिवेदन पास गर्नुका साथै आगामी कार्यायोजना समेत निर्माण गरेको छ । कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहमा कार्यरत शिक्षकहरुको सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया