योगको परिचय ः
“योग” शब्द संस्कृत भाषाको युज धातुबाट आएको हो, जसको अर्थ “जोड”,“मिलन” “एकता” भन्ने हुन्छ । यसले मानव र प्रकृति, आत्मा र परमात्माको मिलन, स्वास्थ्य र कल्याणको लागि व्यापक महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य भन्नाले शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक एवं आध्यात्मिक रूपमा स्वस्थ हुनुलाई भनिन्छ । यसर्थ आजको समाजमा शारीरिक र मानसिक स्वास्थ्यको मूल्यलाई उजागर गर्नको लागि अत्यन्तै महत्त्व रहेको छ । शरीर जति चलायमान भयो त्यति नै स्वस्थ हुन्छ भने मनलाई जति स्थिर राख्न सक्यो मन त्यति नै स्वस्थ हुने गर्दछ । तर आजकाल मानिसहरूमा त्यसको ठिक उल्टो अर्थात् मन अत्यन्तै चञ्चल रहने एवं शरीर एकदमै स्थिर राख्ने वा आराम मात्र गरी बस्ने भएको छ, जसले गर्दा हरेक व्यक्ति रोगी बन्दै गइरहेको हामी पाउँदछौँ । यसर्थ मानसिक स्पष्टता र आत्म–जागरूकतामा प्रवर्द्धन गर्न निरन्तर ध्यान गरी दैनिक दिनचर्यालाई योगयुक्त बनाउन अति नै आवश्यक छ, जसले तनावमुक्त वातावरणको सृजना गर्दछ । यसले मानसिक, भावनात्मक र आध्यात्मिक सद्भावलाई प्रोत्साहन गर्छ र हाम्रो व्यस्त समकालीन जीवनमा सन्तुलनको आवश्यकतामा जोड दिन्छ । योगले तनाव न्यूनीकरण, सजगता र सामान्य स्वास्थ्य र जीवन शक्तिलाई बढवा दिन्छ । वास्तवमा योग हाम्रो पूर्वीय प्राचीन परम्पराको अमूल्य उपहार हो । योगले मन र शरीर, विचार र कार्यको एकतालाई मूर्त रूप दिन्छ । योग लामो र सुखी जीवन जिउनको लागि एक सुन्दर, स्वस्थ तरिका हो । योग हाम्रो स्वास्थ्य र कल्याणको लागि मूल्यवान् छ । वास्तवमा योग भनेको व्यायाम मात्र होइन; अपितु यो आफैँ संसार र प्रकृतिसँग एकताको भावना पत्ता लगाउने तरिका समेत हो ।
परमपिता परमात्माले वर्तमान समयमा हामी सम्पूर्ण मानव आत्माहरूको लागि सहज राजयोगको शिक्षा दिइरहनु भएको छ । राजयोग भनेको शुद्ध विचारले आफूलाई आत्मा सम्झेर परमात्मालाई याद गर्नु हो । परमपिता परमात्मासँग आत्मिक सम्बन्ध स्थापित गरी राजयोगको अभ्यासद्वारा सद्गुण र शक्ति प्राप्त गरी बुद्धि भ्रष्ट हुने सङ्गत र भोजनका दुर्गुणबाट जोगिन आवश्यक छ । जब आत्माहरूले राजयोग अभ्यास बाट दैवी गुणहरूको धारणा सहित आफूमा रहेको मानसिक मनोविकारहरू काम, क्रोध, लोभ, मोह र अहङ्कार माथि विजय प्राप्त गरी पवित्र बन्दछन् तब सुख र शान्तिले भरिएको जीवन प्राप्त गर्दछन् ।
अन्तर्राष्ट्रिय योग दिवसको ऐतिहासिक पृष्ठभूमि
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २७ सेप्टेम्बर २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सम्बोधनमा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव राख्नुभएको थियो । जस अनुसार संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रहरूको उपस्थितिमा ११ डिसेम्बर २०१४ मा हरेक बर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय भयो । सोही अनुरुप पहिलो अन्तर्राष्ट्रिय योग दिवसको उद्घाटन समारोह २१ जुन २०१५ मा भएको थियो । वास्तवमा बर्ष भरिमा सबैभन्दा लामो दिन एवं सूर्य उत्तरायणबाट दक्षिणायनतर्फ २१ जुनमा जाने भएकाले २१ जुनलाई नै अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने वैज्ञानिक एवं धार्मिक कारण रहेको छ ।
अन्तराष्ट्रिय योग दिवसको लोगो एवं त्यसको अर्थ
लोगोको सेतो पृष्ठभूमि – सेतोले विश्वव्यापी चेतनाको प्रतिनिधित्व गर्दछ । लोगो सेतो पृष्ठभूमिमा आफैँ कुँदिएको छ । यसको अर्थ हामीले योगमा जे गरिरहेका छौं, त्यसले हामीलाई विश्वव्यापी चेतनासँग जोड्छ ।
जोडिएको हात– मानव कलाले हात मिलाउनु भनेको मन, शरीर र आत्मा बीचको मेलमिलापको अवस्था हो ।
जोडी पातहरू – खैरो पातहरूले पृथ्वीको प्रतिनिधित्व गर्दछ, जबकि हरियोले प्रकृतिको । यसको मतलब योगले हामीलाई आधार बन्नको लागि मद्दत गर्छ ।
मानवको नीलो आकृति र सुन्तला रंग – मानवको नीलो आकृतिले हाम्रो शरीर कसरी अत्यधिक पानी (नीलो रङ) बाट बनेको छ भनेर प्रतिनिधित्व गर्दछ । पछाडिको सुन्तला छायाले अग्नि तत्वलाई प्रतिनिधित्व गर्दछ । आगो परम ऊर्जाको स्रोत भएकाले यसलाई लोगोमा पहिलो स्थान दिइएको छ ।
मानव आकृति पछाडिको ग्लोब – यसले विश्वभरका सबै मानिसहरू बीच एकता हुनुपर्छ भन्ने कुरालाई जोड दिन्छ साथै यो एकताको प्रतीक हो ।
लोगोमा शब्दहरू – “शान्ति र सद्भावका लागि योग” भन्ने नाराले योगको वास्तविक उद्देश्यलाई प्रतिनिधित्व गर्दछ ।
अन्तर्राष्ट्रिय योग दिवसको नाराहरु
– 2015 Yoga for Harmony and Peace
– 2016 Connected the Youth
– 2017 Yoga for Health
– 2018 Yoga for Peace
– 2019 Climate Action
– 2020 Yoga for Health, Yoga at home
– 2021 Yoga for Well being
– 2022 Yoga for Humanity
-2023 Yoga for Basudhaiba Kutumbakam
यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस २०२३ को नारा बसुधैव कुटुम्बकमको लागि योग भन्ने रहेको छ । वसुधैव कुटुम्बकम एक संस्कृत अभिव्यक्ति हो, जसको अर्थ सम्पूर्ण पृथ्वी एक परिवार हो भन्ने हुन्छ । प्राथमिक शब्द तीन संस्कृत शब्दहरू – वसुधा, इवा र कुटुम्बकम मिलेर बनेको छ । वसुधाको अर्थ पृथ्वी, इवा भनेको जोडिएको र कुटुम्बकमको अर्थ परिवार हो । अयं निजः परोवेति गणना लघुचेतसाम् । उदारचरितानां तु वसुधैवकुटुम्बकम् ।। (महोपनिषद्, अध्याय ६, मंत्र ७१) अर्थात् यो मेरो आफ्नै हो, यो होइन, यस्ता हिसाब किताब साँघुरो मनले गर्ने हो । उदार हृदय भएकाहरूका लागि (पूरै) पृथ्वी परिवार हो । जहाँ अर्कोले सम्पूर्ण वसुधा अर्थात् हाम्रो पृथ्वीलाई परिवारको रूपमा बाँध्दछ । अर्कोतर्फ, यसले भावनात्मक रूपमा मानिसलाई आफ्नो विचार र कार्यको प्रभाव विस्तार गर्न भन्दछ । वसुधैव कुटुम्बकम हाम्रो सनातन धर्मको मूल मन्त्र हो । यसर्थ यस नाराले “एक पृथ्वी, एक परिवार र एक भविष्य“ को लागि हाम्रो साझा आकाङ्क्षालाई सुन्दर ढङ्गले समेट्छ ।
परमपिता परमात्मा हामी सबैको सृष्टिकर्ता हुनुहुन्छ साथै उहाँ एक हुनुहुन्छ । यसरी हामी सबै एउटै परिवारका सदस्य हौँ, चाहे हामी नेपाली हौ वा जापानी । चाहे त्यो एसिया होस् वा युरोप । यस हिसाबले हेर्ने हो भने परमात्माका सम्पूर्ण सन्तान हामी आपसमा भाइ भाइ हौ । भनिन्छ पनि हिन्दु, मुस्लिम, सिख, इसाई आपसमा सब भाइ भाइ । यसो हेर्ने हो भने हिन्दु र मुसलमानको न फेस मिल्छ, न ड्रेस मिल्छ न त भाषा नै मिल्छ तर पनि भाइ भाइ भन्छौ भने वास्तवमा त्यो भाइ भाइको सम्बन्ध आत्मिक सम्बन्ध हो । यस भावनाबाट प्रेरित हुने हो भने आज संसार भरि भई रहेका विभिन्न धर्म भेद, जातिभेद, मतभेद आदिको सहजै अन्त्य हुनेछ ।
यो बारेमा तपाईको प्रतिकृया