काभ्रेपलाञ्चोक (धुलिखेल), ९ भदौ । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ वागमती प्रदेशले काभ्रेको धुलिखेलमा अयोजना गरेको एक दिवसीय अन्तरकृया कार्यक्रम पाँच बुँदे निर्णय गर्दै सकिएको छ ।

महासंघ बागमती प्रदेशका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षता र नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ केन्द्रीय समितिका प्रथम उपाध्यक्ष किरण कुमार खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वागमती प्रदेश अन्तर्गतका पुस्तक ब्यवसायीहरुले जिल्लामा भएका ब्यवसायीहरुको समस्याका वारेमा प्रदेश केन्द्रीय समितिलाई जानकारी गराएका थिए ।
शनिवार दिनभर चलेको अन्तरकृया कार्यक्रममा नीजि प्रकाशन बाट प्रकाशित पुस्तकहरुको कमिसन घट्दै गैरहेको समस्यालाई मध्यनजर गर्दै ब्यवसायीहरुलाई हरेक नीजि प्रकाशनबाट न्यूनतम २० प्रतिशत छुट दिन÷दिलाउन पहल गर्ने, स्कुल तथा कलेजमा जनक शिक्षा सामाग्री बाट प्रकाशित पुस्तक बाहेक अन्य पाठ्य पुस्तक सोझै विद्यालयबाट विक्रि वितरण गर्न रोक लगाउने नीतिगत ब्यवस्थालाई कार्यान्वयनमा ल्याउने निर्णय भएको छ । त्यसैगरी खरिद र विक्रि गर्ने ब्यवसायीहरु बिच आपसी लिखित सहमतिमा नगदमा कारोवार गर्न प्रोत्साहित गर्ने र अंकित मुल्यमा पाठ्यपुस्तक विक्री वितरण गर्ने तथा ब्यवसायिक आचार संहिताको पालना गर्ने ,गराउने निर्णय भएको छ ।

कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि खनाल, नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघका महासचिब शिव सागर शर्मा, सचिब विष्णु पौडेल, प्रदेश महासंघका सल्लाहकार कृष्ण चन्द्र पौडेल, तुल्सी प्रसाद अधिकारी, विजय कृष्ण महर्जन, केन्द्रीय सदस्य महेश पौडेल लगाएतले पुस्तक ब्यवसायीहरु आफु पनि इमान्दार भएर आफ्नो ब्यवसायमा लाग्नु पर्ने, जिल्लाका सरकारी कार्यालय, स्थानीय तह का कर्मचारी, सामुदायिक र नीजि विद्यालयका शिक्षकहरुसँग सुमधुर सम्बन्ध राख्नुपर्ने कुरालाई जोड दिनुभयो । सहभागिहरुले राखेको जिज्ञासा मेटाउदै प्रमुख अतिथि खनालले पुस्तक र स्टेसनरी ब्यवसायीका छुट्टा छुट्टै पिडा भएकोले यसको बारेमा गहन छलफल गरेर अबका दिनमा सकभर गुनासो नआउने गरी काम गर्न आफुहरु तयार रहेको बताउनुभयो ।
अन्तरकृया अघि शुक्रवार र शनिवार विहानभर नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ बागमती प्रदेशको सत्रौं पूर्ण बैठक बसेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया