रामेछाप- रामेछापमा दादुरा रुवेला खोप अभियान संचालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले मंगलबार दादुरा रुवेला खोप अभियानको अभिमुखीकरण कार्यक्रमको आयोजना गरी अभियान संचालन हुन लागेको बताएको हो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ कार्यालयका निमित्त कार्यालय प्रमुख जितेन्द्र कुमार कर्णले जिल्लाका ८ स्थानीय तहमा २ चरणमा खोप लगाइने बताउनुभयो । उहाँका अनुसार चैत्र २ गते देखि १० गते सम्म दोरम्बा गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, रामेछाप नगरपालिका रं मन्थली नगरपालिकामा खोप लगाइने छ । त्यस्तै चैत्र २० देखि २८ गते सम्म गोकुलगंगा गाउँपालिका, सुनापति गाउँपालिका र खाडादेवी गाँउपालिकामा खोप लगाई छ । अभियानका लागि आबश्यक पर्ने जनशक्ति पालिका स्तरीय र वडा स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुलाई तालिम तथा अभिमुखीकरण भैरहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समतिका प्रमुख प्रेम बहादुर खड्काले जिल्लाभर सञ्चालन हुने खोप अभियान सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले बालबालिकाहरुलाई खोप लगाउने अभियानमा जहिले पनि लक्ष अनुसारको उपलब्धि नहुने गरेकोले त्यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले यस्ता अभियानहरु सम्पन्न गर्न जिल्लामा भएका सञ्चारमाध्यमहरुलाई बढि भन्दा बढि उपयोग गर्न आग्रह गर्नुभयो । गैर सरकारी संस्था महासंघका अध्यक्ष भुवन श्रेष्ठले पालिका तथा वडा स्तरमा काम गर्न स्थानीय स्तरमा रहेका गैसस कर्मीहरुलाई स्वयम सेबक छनौट गर्नुपर्ने धारणा राख्नुभयो
जिल्लामा रहेका नौ महिना देखि पाँच वर्ष मुनीका कुल १७ हजार ६ सय २९ जना बाबालिकाहरुलाई यो अभियानमा खोप लगाइने लक्ष रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया